दाङको प्राङ्गारिक मल उत्पादन गर्ने उद्योग रकम अभावले बन्द



दाङको प्राङ्गारिक मल उत्पादन गर्ने उद्योग रकम अभावले बन्द

दाङ २९ जेठ । दाङको प्राङ्गारिक मल उत्पादन गर्ने उद्योग रकम अभावले बन्द भएको छ । कोभिड महामारीका बेलामा बन्द भएको उद्योग फेरि सञ्चालनका लागि रकम अभाव भएको हो । उद्योग सञ्चालन गर्न नयाँ मेसिन थप्ने तयारी भए पनि लगानी जुटाउन समस्या भएको उद्योग सञ्चालकले बताएका छन् ।

५० प्रतिशत सरकारी अनुदानमा घोराही उपमहानगरमा स्थापना भएको सूर्य शक्ति जैविक प्राङ्गारिक मल उत्पादन केन्द्रले रकम अभावकै कारण मल उत्पादनमा समस्या परिरहेको जनाएको छ ।जिल्लामा मल उत्पादन सुरु भए किसानलाई मलको समस्या नहुने सूर्यशक्ति प्राङ्गारिक मल उद्योगका सञ्चालक महेश चौधरीले बताए । अहिले किसान रासायनिक मल नपाएर हैरान छन् । यो बेला प्राङ्गारिक मल उत्पादन गर्ने उद्योग पनि बन्द भएपछि किसानलाई थप समस्या भएको छ ।

बर्सेनि रासायनिक मलको अभाव हुदै आए पनि विकल्पका रूपमा सञ्चालन भएका प्राङ्गारिक मल उत्पादन गर्ने साना उद्योग आर्थिक अभावकै कारण बन्द अवस्थामा पुगेका छन् । नेपाल कृषि अनुसन्धान परिषद् नार्कबाट २०७३ सालमा अनुमति प्राप्त गरेर प्राङ्गारिक मल उत्पादन गरी विभिन्न जिल्लामा पठाउन थालिएको थियो । तर कोरोना सुरु भएपछि जोखिमका कारण कामदार घर गएपछि बन्द भएको उद्योग अझै सञ्चालमा आएको छैन ।

अहिले भारतबाट थप मेसिन ल्याएर स्तरवृद्धि गरी सञ्चालनको तयारी गरिरहे पनि बैंकबाट ऋण नपाउँदा समस्या परेको उद्योगले जनाएको छ । नयाँ मेसिन जडान भए प्रतिघण्टा ७ देखि १० क्विन्टल मल उत्पादन गर्ने र यसबाट दाङका सबै किसानलाई पर्याप्त मात्रामा मल पुग्ने उद्योगका सञ्चालक महेश चौधरीले बताए । यो मल नार्कले धानबालीमा प्रयोगगरी गुणस्तरको अनुमती दिएको छ । सरकारी बागबानी केन्द्रमा पनि यही मल प्रयोग हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे