दाङमा स्मार्ट लकडाउन सुरु : मास्क नलगाउने यात्रु बसमा चढ्न नपाउने



दाङमा स्मार्ट लकडाउन सुरु : मास्क नलगाउने यात्रु बसमा चढ्न नपाउने

दाङ २९ पुस । दाङमा स्मार्ट लकडाउन सुरु भएको छ । बिहिवार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला स्तरिय कोरोना व्यवस्थापन समितीको बैठकले बिहिवार राति १२ बजे देखी लागु हुने गरी स्मार्ट लकडाउन गर्ने निर्णय गरेको हो ।

स्मार्ट लकडाउन अन्तरगत सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुले मास्क नलगाए बसमा चढ्न नदिन निर्देशन जारी भएको छ । त्यस्तै सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने, सेनिटाइजरकाे अनिवार्य प्रयाेग गर्ने,  होटल रेष्टुरेण्ट, पार्टी प्यालेसहरु साँझ ७ बजे सम्म मात्र खाेल्न दिने निर्णय भएको छ । साथै सार्वजनिक स्थलमा २५ जना भन्दा धेरैको जमघट गर्न प्रतिबन्ध लगाएको छ । त्यसै गरी  माघीको अवसरमा कुनै पनि मेला मोहत्सव सञ्चालन नगर्ने निर्णय भएको हो ।

यस्तै दाङमा आउदो माघ ७ गतेदेखी खोप कार्ड भए मात्रै सार्वजनिक स्थानहरुमा प्रवेश गर्न पाईने भएको छ । कोरोनाको जोखिमलाई मध्यनजर गदै सार्वजनिक स्थानहरु कार्यालय, होटेल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईमार्ग लगाएतका क्षेत्रमा प्रवेश गर्दा खोप कार्ड लागु गर्ने निर्णय भएको छ । ती क्षेत्रहरुमा जाँदा खोप कार्ड साथमा भएको हुनुपर्ने वा मोवाएलमा राखेको हुनुपर्ने छ । केन्द्रको जस्तै माघ १५ गते सम्म बिद्यार्थीको भौतिक उपस्थितिमा बिद्यालय सञ्चालनमा रोक लगाइको छ ।

साथै दाङका पालिकाहरुमा बढ्ने कोरोना संक्रमण दरका आधारमा जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिई पालिकाले थप कडा लकडाउन गर्न समेत सक्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे