सहकारी रकम हिनामिना मुद्दामा कारागार चलान भएका पूर्वअध्यक्षद्धय भण्डारी र ज्ञवाली थुनामुक्त



सहकारी रकम हिनामिना मुद्दामा कारागार चलान भएका पूर्वअध्यक्षद्धय भण्डारी र ज्ञवाली थुनामुक्त

देउखुरी २८ पुस । सहकारी संस्थाको रकम हिनामिना मुद्दामा कारागार चलाउन भएका संस्थाका दुई जना पूर्वअध्यक्षहरु थुनामुक्त भएका छन् । देउखुरीको राप्ती गाउँपालिका—५ सिसहनियाँमा प्रधान कार्यालय रहेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्षद्धय किरण भण्डारी र रुकमाङ्गत ज्ञवाली मंगलवार कारागार मुक्त भएका हुन् ।

पुस २५ गते भण्डारी र ज्ञवाली आफै दाङ देउखुरी जिल्ला अदालत घोराहीमा उपस्थित भएर बयान दिए लगत्तै भएको थुनछेक बहसबाट अदालतका मुख्य न्यायधिस रितेन्द्र थापाको इजलासले भण्डारी र ज्ञवालीलाई जनही ५०÷५० लाख धरौटी माग गरेको थियो । माग गरेको धरौटी बुझाउन नसकेपछि अदालतले तत्काल पूर्पक्षका लागि भण्डारी र ज्ञवालीलाई कारागार चलान गर्न आदेश दिएको थियो । मंगलवार तोकेको धरौटी बुझाएपछि उनीहरु दुवै जनालाई थुनामुक्त गर्न कारागार कार्यालय घोराही दाङले पत्र काटेको थियो ।

सोही सहकारी संस्थाको रकम हिनामिना मुद्दामा संस्थाका पूर्व कोषाध्यक्ष रामकृष्ण पौडेल भने धरौटी बुझाएर सोही दिन छुटेका थिए । सोही दिन पौडेल पनि आफै दाङ देउखुरी जिल्ला अदालत घोराहीमा उपस्थित भएर बयान दिएका थिए । बयान दिए लगत्तै अदालतका मुख्य न्यायधिस रितेन्द्र थापाको इजलासमा भएको थुनछेक बहसबाट पौडेल संग २५ लाख धरौटी माग गरेको थियो ।

पौडेलले सोही दिन नै माग गरेको धरौटी अदालतमा बुझाएपछि मुद्दाको अन्तिम टुङ्गो नलाग्नुजेल सम्मका लागि तारिखमा रहने गरी छोडेको अदालतका सुचना अधिकारी राजेन्द्रकुमार शर्माले जानकारी दिए । भण्डारी र ज्ञवाली साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष पदमा रहेका थिए भने पौडेल कोषाध्यक्ष पदमा रहेका थिए ।

सहकारीको रकम हिनामिना गरेको आरोपमा ४ जना कर्मचारीलाई यस अघि नै दाङ—देउखुरी जिल्ला अदालतले पूर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको थियो । ती मध्ये तीन जना कर्मचारीहरु प्रताप चौधरी, विकास न्यौपाने र मनिराम भण्डारी उच्च अदालत तुलसीपुरमा १७ नम्बर गरी धरौटीमा रिहा भएका छन् ।
केही दिन पहिले दाङ—देउखुरी जिल्ला अदालतले सहकारीका २५ जनालाई पक्राउ गर्न पक्राउ पुर्जीनै जारी गरेको थियोे । केही महिना पहिले मात्रै चारवटा सहकारी संस्था मिलाएर देउखुरी बचत तथा ऋण सहकारी संस्था निर्माण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे