LISTEN LIVE RADIO

गढवा गाउँपालिकाको न्यायिक समितिलाई मुद्दा मिलाउनै चटारो, एक बर्षमा एकसय आठ उजुरी



गढवा गाउँपालिकाको न्यायिक समितिलाई मुद्दा मिलाउनै चटारो, एक बर्षमा एकसय आठ उजुरी

गढवा २६ साउन । गढवा गाउँपालिकाको न्यायिक समितिलाई मुद्दा मिलाउनै चटारो भएको र आर्थिक बर्ष २०७७/०७८ को एक बर्षमा एकसय आठ उजुरीहरु दर्ता भएको न्यायिक समितीले जनाएको छ । सामान्य जनताहरु अदालत र प्रहरी कार्यालय धाउन झञ्जट मान्छन् । अदालत जाने पैसा हुदैन । त्यसैले पनि न्यायिक समितिमा उजुरी लिएर नागरिकहरु आउँछन् हामी न्यायिक समितिलाई मुद्दा मिलाउनकै चटारो हुन्छ,–गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक शान्ती चौधरीले भनिन् ।

स्थानीय सरकारले न्यायिक समिति मार्फत मुद्दाहरुको बिवाद निरुपण गर्न थालेपछि सामान्य नागरिकहरुलाई सहज भएको जानकारहरु बताउँछन् । अदालतमा भन्दा छिटो छरितो बिवाद निरुपण हुने र सामान्य दस्तुर बाहेक पैसा खर्च नहुने भएकोले पनि नागरिकहरु स्थानीय सरकारका न्यायिक समितिबाट न्याय पाईने आशा गर्दछन् ।

यसै क्रममा गढवा गाउँपालिकाको न्यायिक समितिले एक बर्षमा न्यायिक समितिमा जम्मा भएका कुल १०८ उजुरीहरु मध्ये ७६ उजुरीहरु किनारा लगाएको र ३२ उजुरीहरु निरुपण हुन बाँकी रहेको न्यायिक समितिका कर्मचारी शुरेस पौडेलले जानकारी दिए । जसमध्ये घरेलु हिंसा तथा विवाह सम्बन्धि १६ उजुरी दर्ता भएकोमा ९ वटा निरुपण भएको र ७ वटा बाँकी रहेको,जग्गा विवाद सम्बन्धि ४० उजुरीहरु परेकोमा ३१ समाधान भएको र ९ वटा मिलाउन बाँकी रहेको न्यायिक समितिका सदस्य कमला नेपालीले बताईन ।

आर्थिक लेनदेन सम्बन्धि २३ उजुरीहरु दर्ता भएकोमा १४ उजुरी समाधान भै सकेको र ९ वठा छलफल गर्न बाँकी रहेको तथा झै–झगडाका अन्य विविध १४ उजुरीहरु मध्ये १३ वटा समाधान भएका र एउटा बिवाद समाधान गर्न बाँकी रहेको न्यायिक समितिका सदस्य आशाराम चौधरीले जानकारी दिए । न्यायिक समितिमा दर्ता भएका उजुरीहरु मध्ये आदेश तथा निर्णय प्रकृया, मिलापत्र प्रकृया,अन्य निकायमा सिफारि गरि बिवादहरुको निरुपण गर्ने गरिएको न्यायिक समितिले जनाएको छ । गाउँपालिकाको न्यायिक समितिले कानूनी सल्लाहकार समेत राखेर सल्लाह र परामर्श बमोजिम विवाद निरुपण गर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे