LISTEN LIVE RADIO

तुलसीपुरमा जंगली बँदेलद्धारा मकैबालीमा क्षति



तुलसीपुरमा जंगली बँदेलद्धारा मकैबालीमा क्षति

तुलसीपुर २२ साउन । तुलसीपुर उपमहानगरपालिका वडा न. ७ को विभिन्न स्थानमा जंगली बँदेलले किसानको खेतिबालीमा क्षति गरेको छ । यस क्षेत्रका गणेशपुर, श्रीगैं, तमाखे लगायतका स्थानमा किसानको मकै बालिमा जंगली बँदेलले क्षति गरेको हो । बजार क्षेत्रबाट नजिकै पर्ने यस स्थानमा विगत ४/५ बर्ष अघिदेखी जंगली जनावरले किसानको खेतिबालीमा क्षति गर्ने गरेको स्थानियले बताएका छन् । मानव बस्ती मै जंगली बँदेल पस्दा स्थानियमा त्रास फैलिएको छ ।

छाडा पशु चौपायाका कारण आजित बनेका यस क्षेत्रका किसानलाई जंगली जनावर बाट बालिनाली जोगाउनै मुस्किल भएको छ ।  त्यस स्थानमा रहेको श्रीगणेश सामुदायीक वनबाट जंगली बदेलहरु आएर मकैबालिमा क्षती गर्ने गरेको स्थानिय बालाराम रेग्मीले बताए । उनका अनुसार त्यस क्षेत्रका १०/१२ घरपरिवारले करिब ८ कठा क्षेत्रफलमा लगाएको मकै बालिमा जंगली बदेलले क्षति गरेको हो ।

त्यस क्षेत्रका किसानहरुको आधा कठा देखी दुई कठा सम्म क्षेत्रफलको मकैबाली क्षतिभएको उनले बताए । उनले भने–“खेतिपाति गर्दा मलबिउ खनजोतमा खर्च धेरै हुन्छ तर हाम्रो लगानी समेत उठ्दैन ।“ त्यस्तै अर्का किसान तारा प्रसाद भुषालले आफूहरुले दुख गरी लगायको मकै बाली बर्षेनी जंगली जनावरले क्षति गर्ने गरेको बताए । बर्षदिन खाने खेति जंगली जनावरले खाईदिंदा के खाने भन्ने चिन्तामा परेको उनले दुखेसो गरे । उनले भने – “बाली भित्र्याउने बेलामा बादर र बदेलले खाईदिन्छ । हामि अत्यन्तै पिडित छौं ।“ त्यस्तै बसन्ता रेग्मी र कुन्ता रेग्मीको पिडा पनि उस्तै छ । बर्षेनी जंगली जनावरका कारण आफूहरुले आधा बाली पनि भित्र्याउन नपाउने उनिहरुको दुखेसो छ ।

श्रीगणेश सामुदायीक वन समुहका अध्यक्ष समेत रहेका अर्का पिडित विर बहादुर विसी ले आफूहरुले पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि कुनै चासो नदिएको बताए ।

आफुहरुको खेतिबालिमा भएको क्षतिपूर्तिका लागी सम्बन्धित निकाय सँग स्थानियले माग गरेका छन् । त्यस्तै वन क्षेत्रको नजिकै बस्ती भएको हुँदा वनलाई तारबार गरी संरक्षण गर्नुपर्ने स्थानियको माग रहेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा न.ं ७ का वडा अध्यक्ष टोप बहादुर केसीले वन क्षेत्रलाई तारवार गर्नुपर्ने त्यस क्षेत्रका किसानको माग भएपनि वडाको बजेटले धान्न सक्ने अवस्था नरहेको बताए । किसानलाई राहतका लागी भने आफुले पहल गर्ने उनको भनाई छ ।

त्यस्तै सव डिभिजन वन कार्यालय तुलसीपुरका प्रमुख विनोद शाहले जंगली जनावरले किसानको खेतिबालीमा क्षति गरेको स्थानको अनुगमन गरी आवश्यक प्रक्रिया अघि बढाईने बताए । उता डिभिजन वन कार्यालय दाङका सुचना अधिकारी खिम केसीले जिल्लामा बादर र बदेलले खेतिबालीमा क्षति गर्ने गरेको भएपनि कार्यालयमा यकिन तथ्याङ भने नभएको बताए । जंगली जनावरको सही संरक्षण तथा ब्यवस्थापन गरी किसानलाई आवश्यक राहत उपलब्ध गराईने उनले बताए ।

साभार : तुलसीपुर अनलाइन

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे