बाढीले लमही–गढवा सडक खण्डकाे राप्ती पुल एप्रोचमा क्षती



बाढीले लमही–गढवा सडक खण्डकाे राप्ती पुल एप्रोचमा क्षती

देउखुरी ३१ असार । लमही–गढवा सडक खण्डकाे राप्ती नदीमा बनेको पक्की पुलको दक्षिण किनारको एप्रोचमा क्षति पुगेको छ । लगातार परेको पानीका कारण राप्ती नदीमा आएको बाढीले पुलको एप्रोचमा क्षति पुगेको स्थानीय राजेश चौधरीले बताएका छन् ।

बाढीले माटो, गिट्टी बगाएपछि पुल कमजोर भएको जसका कारण पुलको जोडाइमा दरार परेको छ । राप्ती नदिको पुलको दक्षिण पुर्व तर्फको किनारमा तटबन्ध नहुँदा पक्की पुल उच्च जोखिममा परेको हो । नदी किनारमा तटबन्ध नगर्ने हो भने पुलको क्षेत्रमा दबाब परेको छ । राप्ती नदीमा अझै तटबन्ध अधुरो छ । जसले गर्दा बोधिपुर, तकियापुर, धर्मपुर गाउँ डुबानको जोखिममा छ ।

यहाँ तटबन्ध नहुदा पुल र बस्ती नै जोखिममा परे पनि यसको समाधानका लागि ध्यान दिइएको छैन । यही बस्ती र पुल जोगाउन तीन वर्षअघि बृहत तटबन्धको योजनाअघि सारियो । तर, जहाँ जोखिम हो त्यहाँ तटबन्ध नै गरिएको छैन ।

तटबन्धको काम सुरु गर्दा जोखिम आँकलन गर्नुपर्ने भए पनि ठेकेदार र जनताको तटबन्ध कार्यालयले चासो नदिँदा अझै राप्ती पुल र बस्तीहरु जोखिममा रहेको स्थानीय अनुपकुमार थापाले बताए । गढवा र लमहीको दूरी बढाउने काम राप्ती नदीले गरेको थियो । तर २०५६ सालमा राप्ती नदीमा पक्की पुलको शिलान्यास भयो । त्यसपछि राप्ती नदीमा पुल बन्यो ।

यो पुलले लमही र गढवाको दूरी घटायो । तर राप्ती नदीमा प्रयाप्त तटबन्ध नहुदा र बनेकै पुलको संरक्षण नहुँदा अहिले पुल जोखिममा परेको छ । कांग्रेस समर्थितहरुले यो पुललाई नेता खमबहादुर खड्काको चिनोको रुपमा लिने गर्छन् । तर, पुल संरक्षण र मर्मतको लागि आवाज नै सुनिएको छैन । पुल निर्माणमा प्रयोग गरिएको फलामको सामाग्रीमा खिया लागेको छ । पुल बनेदेखि एक पटक पनि मर्मत गरिएको छैन । ‘पुल मर्मत र संरक्षण गर्न आवश्यक छ’ गढवा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष रविलाल आचार्यले भने अहिले एप्रोचमा क्षति पुगेको छ ।

यो पुल एक लेनको छ । दोहोरो सवारी सञ्चालन हुँदैन । यती मात्र होइन पुलबाट ओभर लोड बोकेका सवारी साधन गुड्ने हुँदा पुलको आयु थप घट्दै गएको छ । १८ मेट्रिक टन भन्दा बढि भारबहन भएको सवारी साधन चलाउन पाईँदैन । तर, ओभरलोडेट सवारी साधन धमाधम हुईकी रहेका छन् ।

देशसन्चार अनलाइनबाट

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे