निलसागर सेवा आश्रमको आठौं बार्षिकोत्सव सम्पन्न



निलसागर सेवा आश्रमको आठौं बार्षिकोत्सव सम्पन्न

नेपालगन्ज १२ असोज । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले लुम्बिनी प्रदेशलाई सहयोगापेक्षी सडक आश्रित मानव मुक्त प्रदेश बनाउन प्रदेश सरकारले लिएको प्रतिबद्धता पूरा गर्न ध्यानाकर्षण गराएका छन् । प्रदेश सरकारले यस अघि सहयोगापेक्षी सडक आश्रित मानव मुक्त गर्ने घोषणा गरेको थियो ।

शनिवार नेपालगन्ज स्थित निलसागर सेवा आश्रमको आठौं बार्षिकोत्सव समारोहलाई  सम्बोधन गर्दै उनले भने- प्रदेश सरकारले पहिलो कार्यकालमा यो प्रतिबद्धता गरेको थियो, त्यसलाई पूरा गर्नु आजको आवश्यकता हो ।”

सभामुख घर्ती मगरले मानवको सेवा सबै भन्दा ठुलो धर्म भएको बताउँदै मानवता हराउँदै गएको समाजलाई मानव सेवामा समर्पित गर्न अभिप्रेरित आवश्यक रहेको बताए । सरकारले गर्ने काम निलसागर जस्ता सामाजिक संघसंस्थाले गर्नु प्रसंशनीय भएको बताउदै उनीहरुको अभियानमा सबैले सहकार्य गर्नपर्ने बताए ।

कार्यक्रममा निलसागर सेवा आश्रमका संरक्षक एवं राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले मानव कल्याणकारी काममा समाजमा जागरण फैलाउनु जरुरी रहेको बताए । सडक आश्रित मानवको मुक्तिको लागी सरकारले मात्र नसक्ने भएकाले उहाँले पबित्रकार्यमा सहयोगी मन जोड्दै अभियानलाई सार्थक बनाउनु पर्ने बताए । नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इश्तियाक अहमद शाहले सेवाश्रमले गरेको मानबीय सेवा उदाहरणीय भएको बताए ।

आश्रमका अध्यक्ष सरिता खनालले सहयोगी दाताहरुको सहयोगमा आश्रम संचालन भएको जानकारी गराउँदै  मानवताको अभियानमा सहकार्य गर्न आग्रह गरिन् । कार्यक्रममा सहयोग दाताहरु अभियान्ताहरुलाई सम्मान गरिएको थियो । निलसागर सेवाश्रमले असहाय अशक्त तथा जेष्ठ नागरिक सेवा गर्दै आएको छ ।

नेपालगन्ज आश्रममा ७० जना बालबालबालिका सहित २ सय ३३ जना आश्रित छन् । पोखरा, पाल्पा लगायतका शाखाहरुमा गरि ६ सय ४५ जना आश्रित छन् भने ३ हजार २ सय ६५ जनाको परिवारमा पुनर्मिलन गराइएको संस्थामा उपाध्यक्ष नारायण बहादुर सुबेदी (अमन)ले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे