LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशको विशेष अधिवेशन सुरु नै नभइ अन्त्य



लुम्बिनी प्रदेशको विशेष अधिवेशन सुरु नै नभइ अन्त्य

बुटवल १९ बैशाख । आइतवार (आज) बोलाइएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन सुरु नै नभइ अन्त्य भएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गरेपछि यसबारे छलफल गर्न विशेष अधिवेशन बोलाइएको थियो ।

अधिवेशन सुरु हुनुअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अधिवेशनको औचित्य नभएको भन्दै बैठक नै नबसी विशेष अधिवेशन अन्त्य गरिएको हो ।प्रदेश प्रमुख धर्मनाथ यादवले विशेष अधिवेशन अन्त्य भएको पत्र पठाएपछि संसद् सचिवालयले सूचना टाँसेर अन्त्य भएको जनाएको हो । आज दिउँसो १ बजेका लागि विशेष अधिवेशन बोलाइएको थियो ।

आजको बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेस गर्ने कार्यसूची थियो । तर बैठकअघि नै पोखरेलले  राजीनामा दिनुभएको थियो । पोखरेलको राजीनामा स्वीकृत भएलगत्तै एमालेले लुम्बिनीमा फेरि पोखरेलकै नेतृत्वमा एकल बहुमतीय सरकार बनाउने निर्णय गरेको छ ।

प्रदेश संसदीय दलको बिहान बसेको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा एकल बहुमतीय सरकार बनाउने निर्णय गरेको एमाले रुपन्देहीका इञ्चार्ज दधिराम न्यौपानेले जानकारी दिए । न्यौपानेले भने, ‘लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलकै नेतृत्वमा एमालेको एकल बहुमतको सरकार बन्ने भएको छ । बहुमतीय सरकार एक/दुई दिनभित्र बन्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे