ग्रामीण विकास लघुबित्तका कर्मचारीद्वारा किर्ते गरी दुई लाख रकम निकासा गरेकाे खुलासा



ग्रामीण विकास लघुबित्तका कर्मचारीद्वारा किर्ते गरी दुई लाख रकम निकासा गरेकाे खुलासा

लमही ४ वैशाख । दाङको लमही स्थित ग्रामीण विकास लघुबित्त बित्तिय संस्थामा कार्यरत एक कर्मचारीले अर्काको हस्ताक्षर किर्ते गरि रकम निकासा गरेको पाइएको छ । फिल्ड महिला कर्मचारी कुसुम थापाले सोही संस्थामा आबद्ध भएकी लमही नगरपालिका वडा नं. ७ कप्तानगञ्ज निबासी ईन्द्र कुमारी चौधरीको नक्कली हस्ताक्षर गरेर दुई लाख रुपैयाँ निकालेको लमही शाखाका प्रमुख चोकराज ढकालले जानकारी दिए ।

चौधरीको नामबाट रकम निकासा गरेको रहस्य पत्ता लागेपछि खोजतलास गर्दा यस्तो भेटिएको हो । प्रमुख ढकालले ऋणीहरुको फाइल नियाल्दा ईन्द्र कुमारी चौधरीको नामबाट दुई लाख रुपैयाँ निकासा गरेको तर किस्ता नआएको देखेपछि चौधरीलाई सम्पर्कमा ल्याएर बुझ्दा यस्तो रहस्य भेटिएको हो । सस्थांमा आबद्ध भएकी चौधरीलाई नक्कली ऋणी बनाई रकम निकासा गरेको भन्दै कुसुम थापालाई चैत १५ गते नै सँस्थाले निलम्बन गरिसकेको छ । थापाले गल्ती स्वीकार गरि सकेको र संस्थाले पनि कारबाही गरि सकेको लमही शाखा प्रमुख ढकालले बताए ।

‘रकम निकासा गर्दा सबै प्रक्रिया पुगेको तर वास्तविक ऋणीलाई उक्त पैसा नदिएर कर्मचारी आफैले लागेको पाइयो,’ उनले भने‘ यो बदमासी भएकै हो ।’ कुसुम थापाले ईन्द्र कुमारी चौधरी नाममा ऋण निकासा भएको मितिमा शाखा प्रमुख लक्ष्मण रेग्मी थिए । रेग्मी २५ गते सरुवा भएर सुर्खेत गईसकेका छन् । ग्रामिण विकास लघुबित्त बित्तिय सँस्था लिमिटेडले देउखुरी स्थित लमही नगरपालिका र राप्ती गाउँपालिकामा कार्यक्षेत्र बनाएर काम गरिरहेको छ । अहिले यस सँस्थामा ११ सय ५४ जना सदस्य छन् ।

पछिल्लो समय दाङमा बैंकिंग कारोबार गर्ने सस्थांहरुमा बदमासी बढ्दै गएको छ। नक्कली ऋणी खडा गरेर करोडौं रुपैयाँ निकाली हिनामिना गर्ने गरेका समाचार छ्यापछ्याप्ती आईरहेका छन । उक्त संस्था नेपाल राष्ट्र बैँकबाट ’घ’ बर्गको ईजाजत प्राप्त सस्थां हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे