दाङमा ३९औं मगर दिवस भव्य रुपमा मनाइयो



दाङमा ३९औं मगर दिवस भव्य रुपमा मनाइयो

दाङ १६ फागुन। दाङमा ३९औं मगर दिवस भव्य रुपमा मनाइएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङको आयोजनामा जिल्लाभर छरिएर रहेका मगर समुदाय शनिबार घोराहीमा एकै थलोमा बसेर शुभकामना साटासाट गर्दै विगतका कमजोरी औंल्याउँदै आगामी दिनमा साझा धारणामा एक भएर अघि बढ्ने संकल्पसहित भव्य रुपमा मगर स्थापना दिवस मनाएका हुन् ।

नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङका अध्यक्ष खलुप्रसाद पुनको अध्यक्षता तथा संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गुरुप्रसाद घर्ती मगरको प्रमुख अतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले अहिलेका अवस्थामा मगर समुदायले कुनै पनि कार्यक्रम गर्दा सबै खर्च आफै व्यहोर्नुपर्ने पर्न बाध्यता रहेकाले राज्यलाई आफुहरुको माग सम्बोधनमा ध्यान दिन आग्रह गरेका छन् ।

यस्तै, संघकी निवर्तमान केन्द्रीय सदस्य सावित्रा रानाले आदिमकालदेखि देशको भूगोल, कला, संस्कृति, परम्परा, रीतिरिवाज संरक्षण गर्दै आएका आदिवासी जनजातिहरु सँधैभर राज्यको उपेक्षामा परेको गुनासो गरिन् । उनले भनिन् , ‘ईतिहासलाई पल्टाउने हो भने धेरै उदाहरण जनजातिको योगदानमा बनेका छन् तर सँधै यो समुदाय उपेक्षा पर्यौ ।’

यस्तै, मगर संघका केन्द्रीय पूर्व अध्यक्ष लालबहादुर राना मगरले मगर संघलाई राजनीतिभन्दा माथि राखेर सामाजिक, सांस्कृतिक र सबै अटाउने साझा घर बनाउन लाग्नु पर्नेमा जोड दिए। कार्यक्रममा शुभकामना व्यक्त गर्दै अर्का पूर्व केन्द्रीय सदस्य एचबी थापाले आफ्ना संस्कार, परम्परा कसैले पनि भुल्न नहुने जिकिर गरे । मगर जातिको पहिचान रहेको लिगलिगे परम्परा अब हरेक जिल्लामा शुरु गर्न उहाँले जिल्ला समितिलाई सुझाव दिए ।

नयाँ पुस्तालाई मगरजातिको भाषा, कला, संस्कार सिकाउन जरुरी रहेको बताउँदै केन्द्रीय कानूनी सल्लाहकार दीपक थापाले मगरहरुको परम्परालाई कुनै पनि जात धर्मबाट अलग राख्न अपिल गरे ।

कार्यक्रममा प्रमुख अतिथि घर्तीमगरले मगर समुदायमा कुनै पनि काम गर्दा साझा धारणा र बुझाईमा एकरुपता हुन जरुरी रहेको बताए । राज्यको निकायमा मगर जातिको उपस्थितिलाई पहुँच वृद्धि गर्न नयाँ पुस्ता तथा आफ्ना सन्ततिलाई शिक्षादिक्षामा जोड दिन उनको विशेष आग्रह थियो ।

उनले कुनैै पनि जातजातिको पहिचान भनेको भाषा, कला, संस्कृति, परम्परा रहेकाले यसलाई जोगाउँदै स्थापित गर्न सबै एक ठाउँमा आउन आवश्यक रहेको उल्लेख गरे । अन्यथा मगर जाति कुनै दिन कुहिरोको काग बन्ने दिन आउन सक्ने चेतावनी पनि दिए । कार्यक्रममा संघका शितलाल पुन, केन्द्रीय सल्लाहकार सतबहादुर रोका लगायतले बाेलेका थिए ।

बिक्रम सम्वत् २०३८ माघ २८ र २९ सम्पन्न संघ बैठकको अवधारणालाई पारित गरेसँगै २०३९ फागुन १४ देखि १६ गतेको महाधिवेशनबाट १५ गते मगर दिवश मनाउने निर्णय गरेयता हरेक वर्ष मगर दिवस मनाउने गरिन्छ ।

मगर समुदायले फागुन १४ गतेलाई खुट्टा, १५ गतेलाई मुटु र १६ गतेलाई टाउकोको रुपमा मनाउने गरेका छन् । मगर दिवसका अवसरमा मगर समुदायको भाषा, कला भेषाभूषा झल्कने विभिन्न सांस्कृतिक प्रस्तुति पनि देखाइएको थियो । जिल्लाभरबाट सो कार्यक्रममा मगर भेषभूषामा सजिएर सयौंको सहभागीता रहेको थियो भने कार्यक्रमको सहजीकरण संघका सचिव मुक्त बुढा मगरले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे