कविताबाटै भाषण सुरु भएपछि…



कविताबाटै भाषण सुरु भएपछि…

शिबराज पन्थी, गढवा ११ फागुन ।

दर्जन बढी बक्ताहरुका भाषण सुन्दा सुन्दै वाक्क भएको माहोल बिच कविताबाट भाषण सुरु भएपछि दर्शक तथा स्रोताहरुको ध्यान मन्त्रमुग्घ भयो । कविले त्यसै बिद्यालयमा पढ्नेबेला गरिबिको चपेटामा परेर आमाको चोली लगाएर बिद्यालयमा आएको वास्तविकता सुनाए ।

प्रसंग हो- गढवा स्थित जनता माध्यमिक बिद्यालयको अभिभावक दिवसको । कार्यक्रममा कविताकै माध्यमबाट भाषण गर्ने अनुमति माग्दै उहाँले यसरी सन्देशमुलक कविता पस्किए ।
शिक्षा आर्जन गर्नु पूज्नु जनले धर्ती पूजारी बन,
ऐना हो नि समाजको नवदिशा त्यहि उच्चताको धन ।
जो त्यो मुर्ख छ भाँड्छ जगमा त्याँ ज्योति बल्दैन रे,
धर्ती जल्दछ नास हुन्छ जग यो पर्ने छ औंसी अरे ।।

सोही बिद्यालयको बिद्यार्थी हुँदै शिक्षक बनेर अध्यापन समेत गर्नुभएका लमही नगरपालिका-३ निवासी रेशम बिसी पछिल्लो दिनमा सोही बिद्यालयको बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष समेत बनेर काम गरे । यत्तिमात्र हैन उहाँले त्यस बिद्यालयमा आफ्ना बुवा-आमाको स्मृतिमा शोभादेवि-शोभाखर स्मृति पुरस्कारको अक्षयकोष समेत स्थापना गरेका छन् । बिसीले सो कार्यक्रममा कविताकै माध्यमबाट गुणस्तरीय पठन-पाठन र भौतिक उन्नयनको शुभकामना ब्यक्त गरे ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज पोखे्रलको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष यादवले निजी बिद्यालयको तुलनामा सरकारी बिद्यालयमा पठन-पाठनको गुणस्तर खस्कीदै गएकोमा चिन्ता ब्यक्त गर्दै पढाईको गुणस्तरमा शिक्षक,बिद्यार्थी र अभिभावकले समेत ध्यान दिन आबश्यक रहेको बताए । बिद्यालयको भौतिक बिकासका लागि स्थानीय सरकारको तर्फबाट आफुले पहल गर्दे आएको र आगामी दिनमा पनि गर्ने प्रतिवद्धता उहाँले जाहेर गरे ।

कार्यक्रममा बिद्यालयका पुर्व अध्यक्ष,शिक्षापे्रमी समाजसेवी अभियन्ता एवं गढवा गाबिसका पुर्व अध्यक्ष समेत रहनुभएका बयोबृद्ध खिमानन्द पाण्डेयलाई सम्मान गरिएको थियो । सो अवसरमा बिद्यालयमा स्थापित बिभिन्न अक्षयकोषका पुरस्कार समेत वितरण गरिएको छ ।

जस अनुसार रोजगारको शिलशिलामा साउदी अरब पुगेर निधन भएका हरिबहादुर बस्नेतको संझनामा कतार देउखुरी सम्पर्क मञ्चद्धारा स्थापित हरिबहादुर बस्नेत स्मृति पुरस्कार यसबर्षको एसइइ परिक्षामा सर्बोत्कृष्ट अंक ल्याउने सुष्मिता चौधरीलाई प्रदान गरिएको छ । यसैगरी लमही ३ बनगाउँ निवासी सोही बिद्यालयका पुर्व अध्यक्ष रेशम बिसीद्धारा स्थापना गरिएको शोभाखर-शोभादेवि स्मृति पुस्कारबाट जिन्नत सिद्दिकी पुस्कृत हुनु भएको छ ।

त्यस्तै होतराज,दिनमणि र रविलाल आचार्यद्धारा स्थापित सुमकला फर्सराम स्मृति पुरस्कारबाट रोजित चौधरी,कल्पना गिरी र सुपे्ररण चौधरीलाई पुरस्कृत गरिएको छ भने हेमराज,शान्तराज र नारायण पण्डितद्धारा स्थापित ऋषिराम पण्डित स्मृति पुरस्कार लक्ष्मी आचार्यलाई प्रदान गरिएको बिद्यालयले जनाएको छ ।

कार्यक्रममा गढवा गाउँपालिकाका शिक्षा प्रमुख श्याम बिक,गढवा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष रविलाल आचार्य,शिक्षाप्रमी समाजसेविहरु गुणनिधी शर्मा,उमाकान्त पन्त,कृष्णराज पाण्डेय,सकुन्तला डिसी,कोकिला शाही,दिनमणि आचार्य,जगतराम यादव,तेजप्रसाद न्यौपाने,लिखराम कुमाल र अभिभावक कमला भुसाल लगायतले बिद्यालयको शैक्षिक उन्नयनका लागि शुभकामना ब्यक्त गरे ।
कार्यक्रममा बिद्यालयका प्रअ रामसुरत यादवले शैक्षिक तथा आर्तिक प्रतिबेदन प्रस्तुत गरेका थिए । बिद्यालयका शिक्षक उपेन्द्र चालिसेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक राधा गौतमले गरेका थिए । भेलाले निबृत्त शिक्षक जगतराम यादवको अध्यक्षतामा शिक्षक अभिभावक संघको गठन गरेको बिद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे