LISTEN LIVE RADIO

देउखुरीकाे लमहीमा  कविता संग्रह “आशाको किरण” पुस्तक विमोचन 



देउखुरीकाे लमहीमा  कविता संग्रह “आशाको किरण” पुस्तक विमोचन 

लमही ११ पुस । छन्दकवि गङ्गानाथ कोइरालाद्वारा लिखित कविता संग्रह “आशाको किरण” शुक्रवार लमहीमा एक साहित्यिक समारोहबीच विमोचन भएको छ । प्रकाशक संस्था देउखुरी साहित्य मञ्चका अध्यक्ष हरि पोख्रेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी र विशिष्ठ अतिथि राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष पुरुषेत्तम खनालले संयुक्त रुपमा विमोचन गरेका थिए ।

भक्ति थापा स्मृति प्रतिष्ठानको कार्यालय रातोडाँडा लमहीको सभाकक्षमा विमोचित कृतिको देउखुरी बहुमुखी क्याम्पसका उप–प्राध्यापक हरेकृष्ण ज्ञवाली र बुद्धिजिवी जागेश्वर घिमिरेले समीक्षा गरेका थिए । सो अवसरमा कवि एवं गायक योगमायाँ शाहीले शिक्षा सम्बन्धी सन्देशमूलक गीत गाउनु भयो भने, चुमा आचार्य, रेशम बिसी, दीपा खत्री, हिमोड पहाडि, हिमा भुसाल‘प्रकृति’ गिरीराज शर्मा खनाल, जगतराम यादव लगायतका कविहरुले आ–आफ्ना रचना वाचन गरेका थिए ।

चार दर्जन बढी साहित्यकारहरुको सहभागितामा प्रमुख अतिथि मेयर कुलबहादुर केसीले साहित्यले राजनीति र समग्र पक्षलाई दिशानिर्देश गर्ने भएकोले साहित्यिक संस्थाहरुसंग सहकार्य गरेर यस क्षेत्रको भाषा, साहित्य, कला, संस्कृति, एवं शिक्षा क्षेत्रको विकास गर्ने प्रतिबद्धता जनाए । विशिष्ठ अतिथि पुरुषोत्तम खनालले राप्ती साहित्य परिषदले पञ्चायतकाल देखिनै साहित्यमार्फत सामाजिक जागरणका कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै आएको र यसकार्यमा देउखुरीका श्रष्ठा एवं साहित्यिक संस्थाहरु अभिन्न अंग रहेको चर्चा गरे ।

त्यस्तै लमही नगरपालिका वडा नं ५ का अध्यक्ष बिमबहादुर केसीले साहित्यकारहरु र संस्थाको सरसल्लाहबाट यस बिधामा पनि सहकार्य गदैै जानेछौ भन्दै कृतिकारलाई बधाई एवं शुभकामना दिए । अर्का अतिथि राप्ती साहित्य परिषद दाङका अध्यक्ष कमलमणि देवकोटाले देउखुरीमा साहित्यिक फाँट निकै मलिलो बन्दै गएकोले निरन्तरताको शुभकामना दिए ।

कार्यक्रममा गङ्गालक्ष्मी कोइराला, पूर्व प्राचार्य दामोदर पाण्डेय, थारु भाषा तथा साहित्य संरक्षण मञ्च दाङका अध्यक्ष छबिलाल कोपिला, अवधि विकास परिषद दाङका अध्यक्ष जगतराम यादव लगायतका बक्त्राले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

आयोजक संस्थाका सदस्य एवं अनुसन्धाता उदयराज आलेले स्वागत र महासचिव नीमबहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा कृतिका लेखक गङ्गानाथ कोइरालाले सबैप्रति कृतज्ञता जाहेर गर्दै धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे