दाङको तुलसीपुरमा राष्ट्रिय सहकारी बैंकको शाखा स्थापना



दाङको तुलसीपुरमा राष्ट्रिय सहकारी बैंकको शाखा स्थापना

तुलसीपुर ७ पुस । दाङको तुलसीपुरमा राष्ट्रिय सहकारी बैंकको शाखा स्थापना गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच तुलसीपुरको ‘ग’ लाइनमा शाखा विस्तार गरिएको हो । उक्त शाखाको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उद्घाटन गरेका हुन् । त्यस अवसरमा प्रमुख पाण्डेले तुलसीपुरमा सहकारी मर्ज गर्ने नीति अघि सारिने बताए ।

तुलसीपुर उपमहानगरपालिकाले सहकारी नीति समेम बनाएको भन्दै सोही अनुसार सहकारीलाई ब्यबस्थित बनाएर लैजाने समेत बताए । उनले तुलसीपुरमा एक घर, एक सहकारी अभियानलाई समेत अघि बढाएर लैजाने बताए । उनका अनुसार सहकारीका सदस्यहरुलाई तालीमको समेत ब्यबस्था हुनुपर्छ ।

त्यस अवसरमा राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष केबि उप्रेतीले सहकारीे अभियानलाई सार्थक पार्नका लागि सहकारी बैंकको स्थापना गरिएको बताए । उनले तुलसीपुर शाखासहित देशभर ६८ शाखा विस्तारको लागि अनुमति पाइसकेको बताउँदै तुलसीपुर शाखा ४५ औँ शाखाको रुपमा संचालनमा आएको बताए । नागरिकदेखि सरकारसम्म राष्ट्रिय सहकारी बैंकको शेयर सदस्य रहेको उल्लेख गर्दै उहाँले स्थानीय तहले पनि बैंकको शेयर खरिद गर्न सक्ने बताए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रि गुरागाई, संचालक सदस्य माधवलाल देवकोटा, जिल्ला सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद शर्मा, जिल्ला सहकारी संघका संस्थापक भरत देवकोटा, जिल्ला सहकारी संघ तथा बहुउद्देश्यीय सहकारी संघका सचिव शुक्रराज भण्डारी, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रुपबहादु खत्री लगायतले तुलसीपुरमा शाखा विस्तार हुनुले यहाँको सहकारीको स्तर बृद्धि हुने बताएका थिए ।

उनीहरुले लामो प्रतिक्षापछि तुलसीपुरमा सहकारी बैंक सञ्चालनमा आएको भन्दै यसले तुलसीपुरका सहकारीलाई निकै सहज बनाउने बताए । राष्ट्रिय सहकारी बैंक लुम्बिनी प्रदेश संयोजक बिजया धितालको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत नारायण बेलवासेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे