राष्ट्रिय जनमोर्चा गढवाद्धारा गाउँपालिकालाई ध्यानकर्षण



राष्ट्रिय जनमोर्चा गढवाद्धारा गाउँपालिकालाई ध्यानकर्षण

शिबराज पन्थी, गढवा २६ मंसिर ।

राष्ट्रिय जनमोर्चा गढवाले लमही कोइलाबास सडकमा पुरानै भाडादर कायम रहेको, कालाकाटे गढवा सडक निर्माणको कार्यमा ढिलाई भएको र सो सडक खण्डमा चल्ने सबारीका साधनहरुले निर्धारित दररेट भन्दा ५० प्रतिशत भाडा असुल गरिरहेको लगायतका बिषयहरुमा केन्द्रित रहेर समस्या समाधानमा तत्काल सहजीकरण गर्न माग गर्दै गढवा गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

राष्ट्रिय जनमोर्चा गढवाका अध्यक्ष कपिलदेव खनालको नेतृत्वकाे टाेली गाउँपालिकामा पुगी अध्यक्ष सहजराम यादवलाई उक्त ध्यानाकर्षणपत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा लमही कोइलाबास सडकमा चल्ने सवारीका साधनहरुले कालोपत्रे भएर पनि पुरानै भाडादर नागरिकहरुबाट असुली गरिरहेको, राष्ट्रिय गौरबको आयोजना अन्तर्गत कालाकाटे–राजपुर सडक निर्माण कार्य ब्यवस्थित ढंगले तिब्र गतिमा निर्माण हुनुपर्ने, चौडाई रेखांकन सहि ढंगले हुनुपर्ने, खाल्डा खुल्डी पुरेर सबारी साधन चलाउन सहज बनाउनु पर्ने , दैनिक रुपमा पानी हालेर धुलो तथा प्रदुषण कम गर्नुपर्ने र गढवा बजार क्षेत्रमा तिब्र गतिमा काम सम्पन्न गर्नुपर्ने माग गरेकाे छ ।

यसैगरी किसानहरुलाई सडकको क्षेत्राधिकारले अधिग्रहण गरेका भौतिक सम्पत्ति तथा जग्गाको मुआब्जामा पहल गर्नुपर्ने र गढवा बजार क्षेत्रमा सडक निर्माणको काम कछुवाको गतिमा भै रहँदा नागरिकहरुलाई खानेपानीको सास्ती भएकोले सम्बन्धित निकाय संग समन्वय गर्न गाउँपालिकालाई ध्यानाकर्षण गराइएको छ ।

ध्यानाकर्षण–पत्र बुझदै गाउँपालिकाका अध्यक्ष सहजराम यादवले तत्काल सम्न्धित सरोकारवालालाई सर्बदलिय बैठकमा बोलाई समस्याको समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । तपाईहरुले ल्याएका जायज मागहरुलाई सम्बन्धित निकायमा राखि सबै समस्याको हल गर्न आफुले सक्दो पहल गर्ने अध्यक्ष यादवले बताए ।

राष्ट्रिय जनमोर्चा गढवाका अध्यक्ष कपिलदेव खनालको नेतृत्वमा पूर्व केन्द्रिय कोषाध्यक्ष ओंमबहादुर केसी, दाङ जिल्ला सदस्य टुकमान कँवर, सल्लाहकार गुणनिधी शर्मा, पार्टीका वडा नं. ४ र ६ का वडाध्यक्ष चिन्तामणि पोख्रेल र खुमानन्द पोख्रेल लगायतको टोली रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे