दुर्गम गाउँमा लैंगिकहिंसा न्यूनीकरणको सन्देश पुग्दा…



दुर्गम गाउँमा लैंगिकहिंसा न्यूनीकरणको सन्देश पुग्दा…

शिबराज पन्थी, गढवा १४ मंसिर ।

गढवा बजार देखि करिब ५ किलोमिटर दक्षिणमा चुरे पहाड काटेर गएपछि एक समथर बस्ती आउँछ । गढवा गाउापालिका वडा नं. ६ को दुर्गम बस्ती खबरीखुटी जहाँ झण्डै ८० देखी ८५ घरधुरीको बसोवास रहेको छ । शुक्रवार गाउँपालिकाले सो गाउँमा पहिलो पल्ट लैंगिकहिंसा न्यूनिकरणको कार्यक्रम लिएर आएपछि स्थानीयहरु खुसी भएको बताएका छन् ।

लैंगिक हिंसा भनेकै थाहा छैन, काम गर्ने खाने, बस्ने, दिन काट्ने र गुजारा चलाउने हाम्रो दैनिकी छ-स्थानीय उमिसरा रोकाले भने । पहिलेका मान्छेहरुले दुई-तिन वटि श्रीमति ल्याउँथे । हामीलाई दोश्रो बिहे गर्न हुदैन भन्ने जानकारी नै थिएन तर यो कार्यक्रमले जानकारी दियो-गढवा ६ खबरी निवासी माया परियारले भने । उनीहरु जस्तै १६ बर्षको उमेरमै बिहे भएकी स्थानीय बेलमाया रोकाले पनि २० बर्ष पुगेपछि मात्र बिहे गर्नुपर्छ भन्ने कानून आएको पहिलो पल्ट सुनेको बताए ।

शुक्रवार गाउँपालिकाबाट कार्यक्रम गर्न टोली आउँदै छ भनेर गाउँको चौरमा भेला भएका स्थानीय महिला तथा पुरुषहरुले लैंगिक हिंसाका कारण र तथ्यहरु दंग परेर सुनिरहे । लैंगिकहिंसा आफ्नै घर, गाउँ र समाजमा नै हुने रहेछ भन्ने कुरा हामीलाई यो कार्यक्रमबाट धेरै जानकारी भयो । अब यस्ता हिंसा भएमा उजुरी गर्ने सम्बन्धित निकाय पनि थाहा भयो-स्थानीय गिता रोका र रणबहादुर घर्तीले भने ।
कार्यक्रमका सहभागीहरुलाई लिंग पहिचान गरि भु्रण हत्या गर्नु, छोरा र छोरीमा गरिने भेदभाव, छाउपडी, बलत्कार, हत्या, घरेलुहिंसा, आर्थिक सामाजिक शैक्षिक र मानसिक हिंसा, देउकी, जारी, झुमा, अनमेल, मादकपदार्थको सेवन र हिंसा, बोक्सीको आरोप, बालविवाह, बहुविवाह आदिका बारेमा जानकारी गराइएको र हिंसा भएमा तत्काल प्रहरीको टोलफ्री नम्बरमा खबर गर्न आव्हान गरिएको थियो ।

शुक्रवार लैंगिकहिंसा न्यूनीकरणको १६ दिने अभियानको सचेतना कार्यक्रम लिएर गढवा गाउँपालिकाको टोली बिकट बस्ती खबरीमा पुगेको थियो । सोह्र दिने कार्यक्रमका वडा नं. ६ का संयोजक मधा न्यौपानेको अध्यक्षता र वडा नं. ५ का वडासदस्य बिष्णुदेबी कँवर क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै चेतनशिल महिला समाज केन्द्र गढवाका अध्यक्ष तथा महिला अधिकारकर्मी सकुन्तला डिसी, इलाका प्रहरी कार्यालय गढवाका सहायक प्रहरी निरिक्षक कमल प्रसाद बञ्जाडे, गढवा गाउँपालिका महिला तथा बालबालिका शाखाका कर्मचारी सुरेस पौडेल र पत्रकार शिबराज पन्थी लगायतले लैंगिकहिंसा के हो र यसलाई कसरी न्यूनीकरण गर्ने भन्ने बिषयमा स्थानीयलाई सचेत गराएका थिए । कार्यक्रमको सहजीकरण दलित सशक्तिकरण अभियान गढवाका सचिव जया बिशवकर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे