गोरखा ग्रुपद्वारा संचालित गोरखा स्कुल घोराहीले रजत जयन्ती मनाउँदै



गोरखा ग्रुपद्वारा संचालित गोरखा स्कुल घोराहीले रजत जयन्ती मनाउँदै

घोराही १३ पुस । गोरखा ग्रुपद्वारा संचालित गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल, घोराहीले आफ्नो रजत जयन्ती मनाउन लागेको छ ।

सन् १९९८ मा स्थापित गोरखा बोर्डिङ स्कुलले स्थापनाको २५ औँ वर्षको अवसरमा भव्य समारोहका बीच रजत जयन्ती मनाउने तयारी गरेको छ । घोराहीसँगै हाल जिल्लाको तुलसीपुर, लमही, लालमटियामा पनि शाखा स्थापना गरी शैक्षिक गतिविधि संचालन गर्दै आएको गोरखा ग्रुपले घोराहीमा यही पुस १७ गते भव्य समारोहका बीच २५ औँ वार्षिकोत्सव एवम् रजत जयन्ती मनाउने तयारी भएको विद्यालयका प्रिन्सिपल मानसिंह घर्तीले जानकारी दिए ।

यसैगरी, तुलसीपुरमा रहेको गोरखा सेकेन्डरी स्कुलका यही पुस १८ गते १२ औँ वार्षिकोत्सव मनाउने तयारी भएको गोरखा स्कुल तुलसीपुरका प्रिन्सिपल विजय जिएमले जानकारी दिए । उनका अनुसार, वार्षिकोत्सवका अवसरमा बिहीबार एथ्लेटिक्सका विभिन्न विधाका खेल समापनसँगै पुरस्कार वितरण गरिने भएको छ । खेलकुद अन्तरगत विद्यार्थीहरुका लागि आयोजित रिले, हाईजम्प, लङजम्पलगायतका खेलहरुमा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने भएको उनले बताए ।

उता, लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कुलमा पनि यही पुस १६ गते खेलकुद कार्यक्रम समापनसँगै प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिने भएको छ भने विद्यालयको वार्षिकोत्सव १९ गते गरिने विद्यालयले जनाएको छ । उता, लालमटियामा रहेको विद्यालयले भने पुस २० गते एथ्लेटिक्सको फाईनल खेलसँगै पुरस्कार वितरण गरिने भएको छ ।

वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुले तयार पारेका विभिन्न रचनात्मक तथा नवप्रवर्तनात्मक सामग्री प्रदर्शनीका रुपमा देखाईने भएको छ । स्थापना कालदेखि नै शैक्षिक क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको गोरखा स्कुलले राष्ट्रिय स्तरमा पनि उत्कृष्टता हासिल गर्दै आएको छ । कक्षा १२ सम्म पढाई हुने गोरखा माविले विज्ञान र व्यवस्थापनतर्फ आफुलाई अब्बल सावित गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे