स्थानीय उत्पादनको बजारीकरण सम्बन्धी विज्ञहरुद्धारा अध्ययन प्रतिवेदन सार्वजनिक



भालुवाङ १४ पुस । स्थानीय उत्पादनको बजारीकरण सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदा माथि आज बिहिबार देउखुरीको राप्ती गाउँपालिकाका किसानहरु संग छलफल गरिएको छ । स्थानीयस्तरमा उत्पादित बस्तुहरुको बिक्रीबितरणमा समस्या देखापरेपछि विज्ञ समूहद्धारा अध्ययन गरी तयार पारिएको प्रतिवेदन माथि छलफल गरिएको हो ।

स्थानीयस्तरमा उत्पादित तरकारी, पशुपालन र हस्तकलाले बजार नपाएपछि विज्ञहरुले अध्ययन गरेर तयार पारेको प्रतिवेदन समेत सार्वजनिक गरिएको छ । कृषि उत्पादन बजारीकरण परामर्शदाता त्रिजन सिंहले स्थानीय उत्पादनको बजारीकरण सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदा सार्वजनिक गरेका हुन् ।

दाङ—देउखुरीको राप्ती र गढवा गाउँपालिकाका बंगुरपालन, तरकारी खेती र हस्तकला व्यवसाय गर्ने दुई सय ५० घरधुरी किसानको सर्वेक्षण गर्दा बजार नपाउनुको मुख्य कारण सामुहिक बजारीकरण नहुनु रहेको निष्कर्षमा पुगेको परामर्शदाता सिंहले बताए । साथै उनले सामुहिक बजारीकरण संगै आवश्यक तालिम, आपुर्तिको समस्या र सम्त्रन्धित निकायहरु संग समन्वयको अभाव रहेको निष्कर्ष निकालिएको बताए ।

सोसाइटी वेलफेयर एक्सन नेपाल (स्वान) लमही र स्वच्छ व्यवसायी समूह नेपालको संयुक्त आयोजना तथा आईएम संस्थाको सहयोग एवम् राप्ती गाउँपालिकाको सहकार्यमा स्थानीय उत्पादनको बजारीकरण सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदा माथि राप्ती गाउँपालिकाको सभाहल मसुरियामा छलफल गरिएको हो ।

कार्यक्रमममा बोल्दै राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले किसानहरुले सबै क्षेत्रमा हात हाल्नु नै असफलता भएको भन्दै उनले जुन काम गरेर फाइदा हुन्छ त्यही व्यवसाय मात्र गर्न सके आत्मानिर्भर हुने बताइन् । पहिले जुन व्यवसाय गरेको हो वा जुन व्यवसाय गर्दा फाइदा हुन्छ त्यही व्यवसाय एकचित्त भएर लागे सफल व्यवसाय बन्ने समेत बताइन् ।

यता स्वान संस्थाका कोषाध्यक्ष राममोती चौधरीले उत्पादन भएका हस्तकला, तरकारी र बंगुर बिक्री भएन भनेर ब्यापक गुनासो आएपछि आफूहरुले पुनः संस्थाको बैठक बसेर उत्पादन भएका बस्तुहरुको बजार कहाँ—कहाँ छ ? त भन्ने अध्ययन गर्नुपर्ने देखेर स्थानीय बजार देखि प्यूठान र सल्यानको बजारमा समेत अध्ययन गरिएको समेत बताए ।

उनले छलफलबाट आएको सुझाबलाई समेटेर प्रतिवेदनलाई सम्बन्धित स्थानीय सरकारलाई हस्तान्तरण गरिने बताए । साथै उनले अध्ययन प्रतिवेदन अनुसार स्वान संस्था, स्वच्छ व्यवसायी समूह नेपाल र राप्ती गाउँपालिकाले बजारीकरणको समस्या दिर्घकालिन रुपमा हल गर्ने गरी काम गर्ने समेत बताए ।

स्वान संस्थाका कोषाध्यक्ष राममोती चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको प्रमुख आतिथ्यतामा भएको छलफल कार्यक्रममा राप्ती गाउँपालिकाका पशुसेवा शाखा प्रमुख जिवराज पौडेल, महिला बालबालिका शाखाकी कल्पना खनाल र देउखुरी टुडे डटकमका अध्यक्षा तथा प्रधानसम्पादक सन्तोषकुमार गुप्ता लगायतले प्रस्तुत प्रतिवेदनको बिषयमा सुझाब दिएका थिए ।

कार्यक्रममा राप्ती गाउँपालिकाका वाड नम्बर ६ र ७ का किसान समूह तथा विभिन्न व्यवसाय सञ्चालन गर्दैं आएका मुक्तकमैयाँ, सुकुमबासी र भूमिहिन गरी करिब ४५ जनको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण स्वान संस्थाका कार्यक्रम संयोजक रेमन्त चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे