प्युठानको दर्भानमा बालविवाह र जातिय छुवाछुत सम्बन्धी सुझाव कार्यक्रम सम्पन्न



प्युठानको दर्भानमा बालविवाह र जातिय छुवाछुत सम्बन्धी सुझाव कार्यक्रम सम्पन्न

अन्शु बोहोरा, दर्भान २२ कात्तिक ।

समाजमा हुने बाल विवाहलाई न्युनीकरण गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेश प्रहरीले चलाएको १५ दिने अभियान जारी रहेको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा सञ्चालन गरिएको बाल विवाह विरुद्धको १५ दिने प्रहरी अभियान अन्र्तगत शुक्रवार विभिन्न स्थानमा सचेतना मुलक कार्यक्रम गरिएको छ ।
गएको कात्तिक १४ गते देखी सुरु गरिएको अभियानको आठौँ दिन सम्म प्रदेशभर शुक्रवार सम्म झन्डै चार सय वटा कार्यक्रम गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार बैदवारले जानकारी दिएका छन् ।

प्रदेश स्तरिय अभियान अन्र्तगत १२ वटै जिल्लामा गरेर १ हजार २ सय ३१ वटा कार्यक्रम गर्ने लक्ष्य अनुरुप सचेतना कार्यक्रम भईरहेको उनले जानकारी दिएका छन् । उनका अनुसार जिल्लाका स्थानिय पालिका, विद्यालय तथा चोकचोकमा सचेतना कार्यक्रम र प्रर्चा पम्प्लेट वितरण जस्ता गतिविधिहरु सन्चालन गरिएको छ । सोही अनुसार शुक्रवार सम्म ३ सय ९० वटा कार्यक्रम भएका छन् ।

कोरोना माहामारी संक्रमणको जोखिमका बावजुद पनि सावधानी अपनाउदै स्थानिय सरकार, विभिन्न सामाजिक संघसंस्था, युवा क्लब र सामाजिक अभियान्ताहरुको सहकार्य तथा समन्वयमा विभिन्न स्थानमा वाल विवाह न्युनीकरण सम्वन्धी कार्यक्रमहरु भईरहेको प्रहरी बरिष्ठ उपरिक्षक बैदवारले जानकारी दिएका छन् । उमेर नपुगी विवाह गर्न नपाईने कानुनी प्रवाधान भएपनि समाजमा सानै उमेरमा बाल विवाह गरिदिने चलन रहेकाले बाल विवाह गर्न पाईदैन, वाल विवाह गरेमा कानुनी कारवाही हुन्छ, वाल विवाह रोक्न सवै जिम्मेवार बनौ लगाएतका सचेतना मुलक सन्देश सहित यस्तो अभियान चलाईएको उनले जानकारी दिएका छन् ।

प्रदेशका १२ वटै जिल्ला प्रहरी कार्यालय, मातहतका प्रहरी युनिटहरुले कोरोना जोखिमलाई मध्येनजर गदै आफु अनुकुल कार्यक्रम सञ्चालन गरेका छन् । बाल विवाह विरुद्ध कार्यक्रम अन्र्तगत प्रत्येक जिल्ला प्रहरी कायालयले पाँच, ईलाका प्रहरी कार्यालय पाँच, वडा प्रहरी कार्यालय ३ र प्रहरी चौकीले २ वटा कार्यक्रम सञ्चालन गर्ने गरी निर्देशन दिईएको हँुदा सोही अनुसार कार्यक्रमहरु भईरहेको उनले बताएका छन् । समुदाय स्तरमै वालविवाह सम्वन्धी जनचेतना अभिबृद्धि गर्ने र बाल विवाह विरुद्ध प्रहरी अभियानको सहकार्य अभिबृद्धि गर्ने लगाएतका उद्देश्य कार्यक्रमको रहेको छ ।

यसै बिच सवै भन्दा बढी बाल विवाह हुने जिल्ला प्युठानमा प्रहरी र समुदाय मिलेर बालविवाह र जातिय छुवाछुत सम्बन्धी सुझाव कार्यक्रम सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप बालविवाह न्यूनीकरण र जातिय भेदभाब तथा छुवाछुत अन्त्य भन्ने नाराका साथ सरुमारानी गाउँपालिका २ दर्भानको सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रममा ढुङ्गेगढी प्रहरी चौकी का प्रहरी हवल्दार डम्बरबहादुर थापाले समाजमा घट्ने धेरै सामाजिक समस्याहरु मध्ये जल्दोबल्दो समस्याहरु भनेको जातिय भेदभाव तथा छुवाछुत र बालविवाह रहेको बताए ।
उनले बालविवाह कतिपय किशोर किशोरीको जिन्दगी पुरै तहसनहस पारेको खबर हामीले सुन्दै तथा देख्दै आएका बताए ।

साथै समाजमा जातीय भेदभाव र छुवाछूतले कस्तो सम्मको रुप लिएको छ भनेर हामीले रुकुम काण्डबाट नै देखेका, सुनेको र भोगेको स्मरण गराउँदै त्यस्ता घटना कसरी न्यूनीकरण गर्न सकिन्छ र कस्तो सजाए र जरिवाना हुन्छ भन्ने जानकारी समेत गराएका थिए । कार्यक्रममा प्रहरी जवान राम गोपाल चौधरीले सहजीकरण गरेका थिए । कार्यक्रममा गाउँका समाजसेवी तथा बुद्धिजीवि प्रेमबहादुर गुरुङ, श्यामबहादुर बस्नेत, हेमादेवी गुरुङ, टिकाराम बराल, राजेन्द्र श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे