LISTEN LIVE RADIO

तुलसीपुरका इनिस्पेक्टर शर्मालाई कारबाही गर्न युवा संघको माग



तुलसीपुरका इनिस्पेक्टर शर्मालाई कारबाही गर्न युवा संघको माग

तुलसीपुर २१ साउन  । नेकपा (एमाले) निकट युवा संघ नेपाल जिल्ला कमिटी दाङले आफ्ना उपाध्यक्ष हरिष गिरीमाथि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता तथा प्रहरी निरिक्षक झलक शर्माले अनाहकमा कुटपिट र गाली गलौज गरेको भन्दै कारबाहीको माग गरेको छ ।

युवा संघका दाङ जिल्ला अध्यक्ष प्रेम बुढाले बिहीबार एक बिज्ञप्ति प्रकासित गर्दै आफ्ना उपाध्यक्ष गिरीमाथि प्रहरी निरिक्षक शर्माले प्रहरी कार्यालयमै अनाहकमा कुटपिट र अस्लिल गाली गलौज गरेको भन्दै कारबाहीको माग गरेका छन् ।

बरिष्ठ नेता माधवकुमार समुहका मानिने उपाध्यक्ष गिरीले पनि फोन गरि इनिस्पेक्टर शर्माले अनाहकमा आफुलाई कार्यालयमा अश्लिल गाली गलौज र कुटपिट गरेको दाबी गरे ।बिज्ञप्तिमा बुढाले प्रहरी निरिक्षक शर्मालाई तत्काल कारवाही नगरे संघर्षका कार्यक्रम सार्वजनिक गर्न संगठन बाध्य हुने चेतावनी पनि दिएका छन् ।

बिज्ञप्तिमा उल्लेख गरिए अनुसार युवा संघका जिल्ला उपाध्यक्ष गिरीको ब्यबसायमा अबरोध गर्ने, ज्यानमार्ने धम्किदिने एक ब्यक्ति बिरुद्ध करिब तीन महिना अगाडि इप्रका तुलसीपुरमा गिरीले किटानी जाहेरी दिएका थिए । तर, तीन महिना बित्दापनि गिरीले दिएको निबेदन अनुसार आरोपित ब्यक्तिलाई प्रहरीले पक्राउ गर्न कुनै चासो दिएन ।त्यही क्रममा साउन १८ गते गिरीलाई ज्यानमार्ने धम्किदिने ब्यक्ति तुलसीपुरमा फेला परे । गिरीले त्यो कुरा प्रहरीलाई जानकारी दिए । प्रहरीलाई छिटो आउन ताकेता गरे ।

प्रहरीले बोलाएको ठाउँमा आउन ढिला गरेपछि गिरी स्वएंले ती ब्यक्ति र उनका साथीहरुलाई रोक्न खोजे । नजान आग्रह गरे । युवा संघका अध्यक्ष बुढाले जारी गरेको बिज्ञप्तिमा भनिए अनुसार ती आरोपित ब्यक्तिहरु ४÷ ५ जनाको संख्या थिए । सबैले मदिरा सेवन गरेका थिए । उनीहरु गिरीमाथि जाइ लागे ।

त्यही क्रममा दुबै पक्षका बीचमा हात हालाहाल र कुटाकुट भयो । झन्डै आधा घन्टापछि प्रहरी घटनास्थल आएर आरोपितलाई पक्राउ गरेर लग्यो । युवा संघका उपाध्यक्ष गिरीपनि आफ्नो मोटरसाईकल मार्फत प्रहरी कार्यालयमा पुगे । तर, त्यहाँ पुग्नासाथ प्रहरीले गिरीको मोवाईल खोस्यो । एक घन्टा ३० मिनेट थुनामा राख्यो ।

बिज्ञप्तिमा उल्लेख भए अनुसार दुबै जना झगडिया आपसमा मिल्ने सहमति पछि दुबै जनालाई थुनामुक्त गरियो । त्यसपछि दुबै जनालाई इप्रका प्रमुख डिएसपी श्यामु अर्यालको कार्यकक्षमा लगियो । सोही कोठामै युवा संघका उपाध्यक्ष गिरीमाथि प्रहरी निरिक्षक शर्माले तल्लोस्तरको गाली गलौज गर्दै अनाहकमा कुटपिट गरेको आरोप लगाइएको छ ।

युवा संघका जिल्ला उपाध्यक्ष गिरीको ब्यबसायमा अवरोध सृजना गर्ने तथा ज्यानमार्ने धम्किदिने अर्का युवक को थिए रु भन्ने बारे बिज्ञप्तिमा केही खुलाइएको छैन ।

तर, प्रहरी निरिक्षक शर्माले भने आफुमाथि लगाइएको आरोपको खण्डन गरेका छन् । नगरपालिकाको खोला ठेक्काको बिषयमा दूई जना मिलेर एकजना माथि कुटपिट गरेको हुँदा उनीहरुलाई छुट्याएको तथा संझाएर पठाएको उनले प्रतिक्रिया दिए ।

‘कुटपिट गरेको कुनैपनि प्रमाण छ भने त्यो सार्वजनिक गरे हुन्छ,’ शर्माले भने ‘ दूई जना झगडियालाई छुटाउने भन्दा बढ्ता मैले केही गरिन ।’

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे