LISTEN LIVE RADIO

किन महिलाहरुले आफ्नो थर परिर्वतन गर्छन? के भन्छ त अनुसन्धान?



किन महिलाहरुले आफ्नो थर परिर्वतन गर्छन? के भन्छ त अनुसन्धान?

विवाहपछि महिलाहरुले आफ्नो थर परिवर्तन गरेर श्रीमानको थर लेख्छन् । यो नेपालमा त कायम छ नै विश्वका धेरैजसो देशमा महिलाहरुले आफ्नो थर परिवर्तन गरेर श्रीमानको थर प्रयोग गर्ने गरेको एक अनुसन्धानले देखाएको छ। विवाहपछि अमेरिकामा अधिकांश (करिब ७० प्रतिशत) महिलाले आफ्ना श्रीमान्‌को थर अपनाउने गरेको एउटा अध्ययनले देखाएको बिबिसीले लेखेको छ।

सन् २०१६ मा गरिएको सर्वेक्षणका अनुसार ब्रिटेनमा त्यसो गर्ने महिलाहरूको सङ्ख्या करिब ९० प्रतिशत छ। ती मध्ये करिब ८५ प्रतिशत चाहिँ १८ देखि ३० वर्ष उमेर समूहका छन्। उक्त सङ्ख्या अघिल्ला पुस्ताको भन्दा केही कम भए पनि यस्तो हुन एक प्रथा भएको यूकेस्थित युनिभर्सिटी अफ ब्राडफोर्डमा पारिवारिक जीवन विषयका प्राध्यापक साइमन डङ्कनले बताउनुभएको छ। स्पेन, आइसल्यान्ड अनि ग्रीसजस्ता केही देशबाहेक अधिकांश पश्चिमी युरोपेली राष्ट्रहरूमा पनि यो प्रथा व्याप्त छ।

‘यति धेरै महिलाहरूले आफ्नो श्रीमान्‌को थर राख्नु आश्चर्यजनक छ’, प्राध्यापक डङ्कनले भन्नुभएको छ ‘किनकी यो पितृसत्तात्मक इतिहासबाट निर्देशित छ ।’ उहाँले पुरुषको थर अपनाउने अभ्यासबारे अनुसन्धान समेत गरिरहनुभएको छ। यूके र नर्वेमा नव विवाहितहरू अनि विवाहको तयारी गर्दै गरेकाहरूसँग गरिएको लामो कुराकानी अनि हाल उपलब्ध अध्ययनहरूको गहन विश्लेषणबाट डङ्कनको टोलीले दुईवटा मुख्य कारण पात्ता लगाएको छ ।

पहिलो- पितृसत्तात्मक शक्तिको जड र दोस्रो असल परिवारको आदर्श जसमा आफ्नो जीवनसाथीसँगको साझा नाम हुनुले प्रतिबद्धताको सङ्केत गर्ने र आफू अनि आफ्ना सम्भावित बच्चाहरूलाई एक ढिक्का रूपमा प्रस्तुत गर्ने बुझाइ पाइन्छ। केही दम्पतीले त्यत्तिकै यो प्रथालाई स्वीकार गरेको पाइन्छ भने अन्य केहीका लागि यो सामान्य रूपमा एक परम्परा हो। अरू केहीले भने पुरुषको थर दिइनुपर्ने विचारधारालाई सक्रिय रूपमा अङ्गालेको पाइन्छ।

उहाँको टोलीले तयार पारेको शोधपत्रले के सङ्केत गर्छ भने नाम परिवर्तन गर्ने महिलाहरू अन्य पितृसत्तात्मक परम्परासँग पनि जोडिएका छन्।उक्त टोलीले देखेको अर्को कारण सार्वजनिक विचारसँग सम्बन्धित छन्। जीवनसाथीको नाम अपनाउनु सम्बन्धप्रति आफ्नो प्रतिबद्धता र बाहिरी दुनियालाई आफूहरूबीच एकता रहेको देखाउने तरिका रहेको उक्त टोलीको निचोड छ।

‘मलाई लाग्छ की यसले हामीलाई एक व्यक्ति मात्रै नभएर परिवारका रूपमा पहिचान दिएको छ’, क्यालीफोर्नियाकी लिन्डसे एभान्सले भन्नुभएको छ। आदर्श परिवारुको धारणा सन्तान भएका महिलामा अझ प्रगाढ भएको शोधपत्रमा उल्लेख छ। विवाह गर्दा थर बदल्न नमानेकाहरूले समेत आमा बनेपछि आफ्नो दृष्टिकोण बद्लेको पाइएको छ।

डङ्कनको अध्ययनले अभिभावकहरूमा रहेको अर्को समान धारणाको पनि चर्चा गरेको छ। फरक(फरक थर हुँदा आफ्ना सन्तान अलमल पर्न सक्ने वा खुसी नहुन सक्ने विषयबारे उनीहरू चिन्तित छन्।

के भविष्यमा धेरै मानिसहरूले थर फेर्नेछन् ?

भविष्यमा समेत थर अपनाउने प्रथा कायम रहने नरहने विषयमा शोधकर्ताहरूबीच बहस भइरहेको छ। हालसम्म निकै सुस्त गतिमा प्रगति अनि महिला र परुष दुवै अन्य विकल्पबारे खुला रहेको अवस्थासँग जोडिएर केही सङ्केत देखिए पनि उक्त विषयको अनुमान गर्न सक्ने निकै कम अध्ययन भएका छन्।

सन् २०१६ मा यूकेमा १ हजार ५ सय भन्दा बढी मानिसमा गरिएको सर्वेक्षणमा ५९ प्रतिशत महिलाहरूले विवाह पछि थर फेर्ने बताएका थिए।त्यस्तै ६१ प्रतिशत पुरुषहरूको आफ्ना श्रीमतीले त्यस्तो गरुन् भन्ने चाहना रहेको बताइएको छ। यो सङ्ख्या उच्च देखिए पनि हालको समयमा यो परम्परा अपनाउने ब्रिटिश सर्वसाधारणहरूको अनुपातमा भने करिब ३० प्रतिशत कम हो।

त्यस्तै एउटा अर्को सर्वेक्षणले यूकेका १८ देखि ३४ वर्ष उमेर समूहका ११ प्रतिशतले विवाह पश्चात् आफ्नो अनि श्रीमान् दुवैको थर राख्ने गरेको देखाएको छ। केही जोडीले दुवैजनाको मिश्रित थर रोज्न थालेको पाइन्छ । अमेरिकामा पनि दुवैको थर राख्ने चलन बढ्दो क्रममा छ। केही दम्पतीले भने दुवैको थर मिसाएर नयाँ बनाउने र केही पुरुषले श्रीमतीको थर अपनाउने गरेको पनि पाइन्छ। तर यी दुवै घटना असामान्य हुन।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे