LISTEN LIVE RADIO

सौरभ ज्योति बने नेपाली इन्जिनियरले बनाएको इलेक्ट्रिक बाइक ‘यात्री’ को पहिलो ग्राहक



सौरभ ज्योति बने नेपाली इन्जिनियरले बनाएको इलेक्ट्रिक बाइक ‘यात्री’ को पहिलो ग्राहक

नेपाली युवा इन्जिनियरको टोलीले बनाएको विद्युतीय मोटरसाइकल ‘यात्री’ को पहिलो  ग्राहक ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति बनेका छन्। ज्योतिले बिहीबार नेपालमै पहिलो पटक ४ जना इन्जिनियर सहितको ७ जनाको टोलीले निर्माण गरेको मोटरसाइकल ‘यात्री’ को बुकिङ्ग गरेका हुन्।

“कम्पनीले मोटरसाइकलको मूल्य सार्वजनिक नगरेतापनि नेपाली युवाहरूलाइ प्रविधिमा हौसला बढाउन मूल्य थाहा नभएपनि खरिद गरेको हुँ,’ ज्योतीले भने”। ज्योतिको बुकिङले आफूहरूको हौसला झनै बढेको कम्पनीका संस्थापक अशिम पाण्डेले बताए।

सम्पुर्ण स्पेयर पार्ट्स नेपालमै डिजाइन

इलेक्ट्रिक बाइक ‘यात्री’ को सम्पुर्ण स्पेयर पार्ट्स नेपालमै डिजाइन गरेर अमेरिका, चाइना, भारत र युरोपेली मुलुकका विभिन्न कम्पनीसँग सहकार्य गरी निर्माण गरिएको कम्पनीका संस्थापक अशिम पाण्डेले जानकारी दिए।

‘हामीले सबै काम आफै गर्यौँ, कतिपय पार्ट्स बनाउन नेपालमै करोडौ लाग्ने प्लान्ट बनाउनु पर्ने भएकोले नेपालमा डिजाइन गरेर विदेशबाट बनाएर ल्यायौँ’ उनले भने।

साठीको दशकको क्याफे रेसर डिजाइनबाट प्रभावित यस मोटरसाइकल सहरी क्षेत्र र मोर्डन कनेक्टिभिटीको लागि तयार पारिएको पाण्डेको भनाइ छ।

३० किलोवाट ब्याट्री क्षमताको यस मोटरसाइकल सिङ्गल चार्जमा २ सय ३० किलोमिटर कुद्ने कम्पनीको दावी छ।

बाइकमा ४० हर्सपावरको शक्ति छ।

बाइक निर्माणका लागि कम्पनीले २०१७ देखि रिसर्चको काम सुरु गरिसकेको थियो भने २०१८मा नेपालको विभिन्न ठाउँ गएर सवारीसाधन र सडकको बारेमा अध्ययन गरेको थियो।

यात्रा गर्दा हुने प्रमुख समस्या पहिचान गरेर त्यही अनुसार मोटरसाइकल निर्माण गरिएको पाण्डेले जानकारी दिए।

यसमा अरु मोटरसाइकलजस्तो मेटल नभई कार्वन फाइवर प्रयोग गरिएकोले आकर्षक हलुका र सुरक्षित रहेको कम्पनीको दावी छ।

यात्री डिजाइन स्टुडियोले पहिलो चरणमा ५० ओटा मोटरसाइकल उत्पादन गर्नेछ। कम्पनीले यसको मूल्य भने सार्वजनिक गरेको छैन।

‘हाम्रो डिजाइन विदेशबाट बनाएर ल्याउँदा पनि भन्सार शुल्क लगायतमा खासै सहुलियत रहेनछ। यो नीतिगत समस्या सुल्झिएपछि हामी सकेसम्म थोरै मूल्यमा मोटरसाइकल उपलब्ध गराउछौ,’उनले भने।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे