LISTEN LIVE RADIO

आइसोलेसनमा प्राकृतिक चिकित्सा तथा योग



आइसोलेसनमा प्राकृतिक चिकित्सा तथा योग

राति अबेरसम्म बसेर खाना खाने र बिहान समेत छिट्टै खाना खाने चलनको इतिहास पनि त्यति लामो छैन । स्वास्थ्यलाई दृष्टिगत गर्दै साँझ सूर्यास्तअघि खाना खाइसक्ने र बिहान सूर्याेदयपछि मात्रै खाना खाने चलन हाम्रा पूर्वजहरूले पहिलेदेखि नै चलाएका थिए ।

भरतपुर–१ वागेश्वरी चितवनस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा गत भदौ महिनादेखि कोरोना संक्रमितको लागि आइसोलेसन सेन्टरको रुपमा सेवा दिन थालियो । सुरुमा त सामान्य कोरोना संक्रमित मात्रै आएका थिए, चुनौती पनि कम थियो । तर आइसोलेसन सेन्टरमा भरतपुर क्यान्सर अस्पतालमा उपचारका लागि गएका एक जनालाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले सिधै यही चिकित्सालयमा सिफारिस गरेर पठाइदियो ।

त्यतिबेला चिकित्सालयसँग चुनौती र अवसरसँगसँगै आएको थियो । एकातर्फ कोरोनाको समयमा समेत खासै चर्चामा आउन नसकेको प्राकृतिक चिकित्साको क्षमता देखाउने अवसर थियो भने अर्काेतिर क्यान्सर पीडित बिरामीलाई कोरोना मुक्त गराएर फर्काउने चुनौती समेत थियो ।

यो आइसोलेसन सेन्टरको उपचारपद्धति भिन्न छ । कोरोना भाइरसको महामारी अघिसम्म गुपचुप अवस्थामा रहेको आयुर्वेद तथा प्राकृतिक चिकित्सालयहरूले कोरोनाको अवसरमा आफ्नो क्षमता प्रस्तुत गर्ने मौका पाए । कोरोनाको संक्रमण भयो भन्नेलाई धेरैले बेसार पानी, गुर्जाे जस्ता जडीबुटीको सिफारिस गर्न कोही पनि हिचकिचाउनु नपर्ने अवस्था यही कोरोनाकै समयमा बन्यो । अवस्था गम्भीर बन्दाबाहेक कोरोना संक्रमितलाई उपचारको लागि समेत आयुर्वेद एवं प्राकृतिक चिकित्सा उपचार केन्द्रमा नै जान समेत मान्छेहरूले सिफारिस गर्न थाले ।

सरकारले १४ दिन आइसोलेसनमा राखेर परीक्षणविना नै घर पठाउने नीति लिनुपूर्वसम्म कीर्तिपुरमा रहेको आयुर्वेदिक आइसोलेसन केन्द्रमा रहेका कोभिड संक्रमितहरूमध्ये अधिकांश सातदिनमा नै कोरोना मुक्त भएर घर फर्किने गरेका थिए । एकाध व्यक्ति ९ दिनमा कोरोनामुक्त भ एभने बाँकी सबै सातदिनमा घर फर्किएको सो आइसोलेसन सेन्टरले जनाएको छ । आयुर्वेदभन्दा केही भिन्न प्राकृतिक चिकित्सामा पनि सोही अनुसार संक्रमितलाई निको गराएर पठाएको रेकर्ड रहेको चिकित्सालयले जनाएको छ ।

चिकित्सालयका मेडिकल डाइरेक्टर डा. हेमराज कोइरालाका अनुसार यहाँको आइसोलेसमा बिरामीलाई दिइने सेवा र खानपानको शैली अन्तभन्दा भिन्न छ ।

चिकित्सालयले कोरोना संक्रमितलाई १६ घण्टासम्मको फस्टिङदेखि फोक्सोलाई चलायमान गराइरहनको लागि विभिन्न किसिमका योगका आसनहरू समेत गराउने गरेको छ । जसअनुसार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मात्रै कोरोना संक्रमितलाई खाना खान दिइन्छ । तर खाना खानको लागि खुला गरिएको ८ घण्टासम्म शरीरलाई अत्यावश्यक पौष्टिक आहार खुवाउने गरिन्छ ।

जस्तो मान्छेको शरीरको तौल जति किलो छ त्यसको पाँच गुणा अर्थात् ५० किलोको मान्छेले दैनिक २५० ग्राम फलफूल खान दिने गरिन्छ । यसमा चार किसिमको फलफूल सामेल गरिएको हुन्छ ।

त्यस्तै, खानामा एउटा फापरको रोटी, कागुनो वा चिनोको चामलको डेढ सय ग्रामसम्म खाना, २ सयदेखि ३ सय ग्रामसम्मको सागसब्जी, २ देखि ३ दिनसम्म अंकुरित गेडागुडी, हर्बल डिडक्सन भनेर गुर्जाे पानी, अदुवा, मरिज, ल्वाङ आदि खान दिने गरिन्छ । साँझ बेसार पानी वा अश्वगन्धाको झोल खुवाउने गरिन्छ ।

सो आइसोलेसन सेन्टरमा आइतबारमात्रै ८० जना रहेका छन् । भदौ १४ गतेदेखि आइसोलेसन सेन्टरको रूपमा सेवा सुरु गरेको सो चिकित्सालयबाट अहिलेसम्म १२५ जना ठीक भएर घर गइसकेका छन् । त्यहाँ बस्ने कोरोना संक्रमितलाई १४ औं दिनमा कोरोना परीक्षण गर्ने गरिन्छ र १४ औं दिनमा गरिएको परीक्षणमा शतप्रतिशत संक्रमितको रिपोर्ट नेगेटिभ आएको कोइरालाले अनलाइनखबरलाई जानकारी दिए ।

अहिले चिकित्सालयले विभिन्न प्रकारका योगासन समेत गराउने गरेको छ । यस्ता योगासनले कोभिड मुक्त गराउन प्रभावकारी हुन्छ भनेर वैज्ञानिक पुष्टि नभइसकेको भए पनि कोरोनाले धेरै असर गर्ने फोक्सोलाई सक्रिय गराइराख्नको लागि विभिन्न आसनको योग समेत गराउने गरिएको छ । यसले सुखद् नतिजा समेत दिएको कोइराला बताउँछन् ।

कोइराला भन्छन् ‘कोरोना भाइरसले फोक्सोमा गएर बिजारोपण गरेपछि मान्छेमा समस्या सुरु हुन्छ भनिन्छ । योगले फोक्सोमा कोरोनालाई बिजारोपण नै हुन नदिने प्रयास गर्छ । जसरी बिउलाई पनि हामीले चलाइरह्यौ भने त्यो अंकुराउन सक्दैन । त्यसरी नै कोरोनाको भाइरस फोक्सोमा अंकुरित नहोस् भन्नको लागि विभिन्न योगासन गर्ने गरेका छौं ।’

सो आइसोलेसन सेन्टरबाट हालसम्म दुई जना क्यान्सर रोगी कोरोना संक्रमित कोरोना मुक्त भएर घर फर्किसकेका छन् । आइसोलेसन सेन्टरमा अहिले २१ किसिमको योगासन गर्ने गरिएको छ । सो आइसोलेसन सेन्टरमा बस्ने संक्रमितहरूलाई प्राणायाम गराउने, निर्देशित विश्राम विधिआदि मार्फत् कोरोना मुक्त गराउने प्रयासमा लाग्ने गरेको उनी बताएँछन् । त्यसैगरी साँझ मनोरञ्जनात्मक कार्यक्रम गराउने गरिन्छ ।

यसकाबाहेक आवधिक उपवास गराउने, प्राकृतिक खानेकुरा खुवाउने र संक्रमितको मनोबल उच्च राख्नको लागि विभिन्न उत्प्रेरणात्मक कार्यक्रमहरू पनि गराउने गरिएको कोइरालाले जानकारी दिए ।

साभार ः अनलाइन खबर
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे