भण्डारी र खनालको स्वास्थ्यमा सुधार



भण्डारी र खनालको स्वास्थ्यमा सुधार

दाङ १६ फागुन । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङका सदस्य तथा समाजसेवी लमही दाङ निवासी ठाकुर प्रसाद भण्डारीको स्वास्थ्यमा केही सुधार आएको छ । गत फागुन ७ गते उद्योग वाणिज्य संघ लमहीको बैठक सकेर घर फर्किंदै गर्दा बनगाउँ चोक नजिकै राजमार्गमा उहाँ चढेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

भण्डारीलाई लमहीमा सामान्य उपचारपछि कोहलपुर मेडिकल कलेज पुर्याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि अचेत अवस्थामा उनलाई मेडिकल टिमसहित हेलिकप्टरद्वारा काठमाडौं लगि बाँसबारीस्थित न्यूरो अस्पतालमा सघन कक्षमा उपचार भइरहेको छ ।

दुर्घटना भएको समय देखि करीव १० दिनसम्म उनको होस आएको थिएन । भण्डारीको टाउकोमा गम्भीर चोट लाग्न गई उनी बेहोस अवस्थामा हुनुहुन्थ्यो तर आज उहाँको आँखा खुलेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

हातको इशारा बाट केही कुरा गर्न खोज्न झै गर्नुहुन्छ भने खुट्टा र शरीर चलाउन सक्नु भएको छ । लामो समय पछि उहाँको स्वास्थ्य स्थिति यसरुपमा सुधार हुँदा आफन्तजन, पार्टीपंक्ति, शुभचिन्तक, स्वास्थ्यकर्मी लगायत सबैमा आशा जागेको राजमो दाङका उपाध्यक्ष एवम् पत्रकार महेश रिजालले आज अपरान्ह घाइते भण्डारीलाई भेटेर फर्केपछि जानकारी दिएका छन् ।

यस्तै, उपाध्यक्ष रिजालले ललितपुर ग्वार्को स्थित बी एण्ड बी हस्पिटलमा उपचाररत राष्ट्रिय जनमोर्चा दाङका सदस्य कपिलदेव खनालको स्वास्थ्यमा पनि सुधार आइरहेको बताए ।

खनाललाई यही फागुन ६ गते पार्टीको काममा गढवा घरदेखि मोटरसाइकलमा घोराही तर्फ जाँदै गर्दा स्कर्पियो जीपले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। घाइते खनाललाई उद्धार गरी लमही प्राथमिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल चौराहा अस्पतालमा पुर्याएको थियो ।

दाहिने खुट्टा तीन ठाउँमा र दाहिने हातको कुममा गम्भीर चोट लागि घाइते खनाललाई त्यहाँ उपचार गर्न कठिन भएपछि बी एण्ड बी अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ ।

पाँच दिनजति आइसियुमा  राखेर अप्रेसन पछाडि पाँच दिन सम्म आइसियुमा राखी उनलाई वार्डमा ल्याइएको थियो भने पुनः दुई दिन पछि कुमको अप्रेसन गरी आइसियुमा राखी आज वार्डमा ल्याइएको छ। उनको अवस्था अहिले खतरामुक्त भए पनि शारीरिक रुपमा निकै गम्भीर रुपले जोखिम रहेको अवस्थामा पनि उनी सामान्य कुराकानी गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे