LISTEN LIVE RADIO

पत्रकारलाई आजबाट कोरोना बिरुद्धको खोप लगाइदै



पत्रकारलाई आजबाट कोरोना बिरुद्धको खोप लगाइदै

काठमाडौं २६ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट कोरोना भाइरस (कोभिड–१९ विरुद्ध)को खोप पत्रकारहरुलाई उपलब्ध गराउने भएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि आजबाट पत्रकारलाई लगाउने तयारी भएको हो ।

आजबाट पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना खोप लगाउन सुरु गर्न लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सोमबार (आज)देखि पाँच दिनसम्म अग्रपंक्तितमा काम गर्ने पत्रकारलाई निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरबाट खोप दिइने जानकारी दिए । खोप लगाउन पत्रकारले आफ्नो परिचयपत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ ।

सहप्रवक्ता अधिकारीले खोप लगाउने पत्रकारको विवरण खोप सचिवालय (स्वास्थ्य सेवा विभाग) मा उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आवश्यक समन्वय गर्न आग्रह गरिएको जानकारी पनि दिए । स्वास्थ्य मन्त्रालयले सञ्चार मन्त्रालयसँग देशभरिका पत्रकारको विवरण मागेको छ र सोही विवरण खोप सचिवालयमा उपलब्ध गराइनेछ ।

देशभर करिब १३ हजार पत्रकार रहेका छन् । पहिलो चरणको खोप एक लाख ८४ हजार ८५७ जनालाई लगाइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे