राप्तीमा डेंगुबाट बच्न धमाधम लामखुट्टेको बासस्थान र लार्भा नष्ट गरिदै, सतर्कता अपनाउन आग्रह



राप्तीमा डेंगुबाट बच्न धमाधम लामखुट्टेको बासस्थान र लार्भा नष्ट गरिदै, सतर्कता अपनाउन आग्रह

भालुवाङ २० साउन । लामखुट्टेको टोकाइबाट हुने डेंगुबाट बच्न दाङको राप्ती गाउँपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई व्यापक बनाएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाले शुक्रवार देखि पालिकाको विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको बास स्थान र लार्भा नष्ट गर्न अभियान चलाएको हो । सरोकारवाला निकायका प्रमुखहरुलाई एकै थलोमा राखेर डेंगु रोगका विषयमा जानकारी गराउनुका साथै फिल्डमै गएर लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने कार्य गरिएको छ ।  अभियानको दोस्रो दिन राप्ती गाउँपालिका वडा नम्बर ५ को सिसहनियाँ बजार क्षेत्रमा प्रचारनात्मक कार्यक्रम सँगै लामखुट्टेको बासस्थान र लार्भा नष्ट गरिएको छ । गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी, ५ नम्बर वडा अध्यक्ष देवप्रसाद चौधरी लगायत जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, संघ संस्थाका प्रमुख अभियानमा सहभागी भएका थिए ।

सो अवसरमा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले अभियानलाई निरन्तरता दिने बताउँदैै सबै स्वास्थ्यका सवालमा नागरिक सचेत बन्नुपर्ने बताएका छन् । पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन निरन्तर सरसफाइको लागि जनचेतनामूलक अभियान अगाडि बढाइएको उनले जानकारी दिए । पहिलो दिन राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोकमा बजार क्षेत्रमा अभियान सञ्चालन थियो । डेंगुको जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने कामलाई व्यापक बनाइने राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।
स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दका अनुसार हाल दाङ जिल्लाभर करिब ४६ जनामा डेंङ्गी संक्रमण देखिएको छ । तर डेंङ्गी संक्रमणबाट भने अहिले सम्म कसैको पनि मृत्यु नभएको फोकल पर्सन चन्दले बताए । उनले स्थानीय पालिका र रेडक्रस संगको समन्वयमा जिल्लाभर डेंङ्गी संक्रमणबाट बचन संचेतनामूलक कार्यक्रम शुरु गरिएको समेत बताए ।

विशेषगरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्यांकी आदिमा यो लामखुट्टे फूल पार्छ । विशेष गरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गर्छ । उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेंगुका लक्षण हुन् । जटिल प्रकृतिको डेंगुको संक्रमण भएका बिरामीमा थकान महसूस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिनेस्ता लक्षण देखा पर्छन् ।

गाउँपालिकाको स्वास्थ्य शाखाले लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै सबै  गाउँबासीमा सतर्कता अपनाउन आग्रह गरेको छ । लामखुट्टेको बासस्थान तथा लार्भा खोजी गरी नष्ट गर्ने अभियानमा सहभागी हुन स्वास्थ्य शाखाले सबै टोलवासीमा अनुरोध समेत गरेको छ । सन् २०२२ मा ५४ हजार ६ सय ३० जनामा डेंगी देखिएको र यसबाट ८८ जनाको ज्यान गइसकेको छ । नेपालमा पहिलो पटक सन २००४ मा एक जनामा डेंगी रोग संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे