दाङमा आज एकै साथ चार स्थानीयतहमा १५ शैयाको अस्पतालकाे शिलन्यास



दाङमा आज एकै साथ चार स्थानीयतहमा १५ शैयाको अस्पतालकाे शिलन्यास

दाङ १५ मंसिर । सरकारले हरेक स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ सोमवार एकैसाथ ३ सय ९६ स्थानीय तहमा आधारभुत अस्पतालको भवन शिलन्यास गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३ सय ९६ स्थानीय तहमा पाँचदेखि १५ शैयाको अस्पताल बनाउने लक्ष्यका साथ दाङका चार स्थानिय तहमा अस्पताल निर्माणको भवन एकै साथ शिलन्यास गरिएको छ ।

जस अन्र्तगत राप्ती गाउँपालिकाको सिसहनियाँमा १५ सैयाको अस्पताल निर्माणका लागि भवनको शिलान्यास गरिएको छ ।सिसहनियाँ स्वास्थ्य चौकी नजिकै सार्वजनिक जग्गामा १५ शैयाको आधारभूत अस्पताल निर्माणको लागी प्रतिनिधि सभा सदस्य गंगा चौधरीले भवनको शिलान्यास गरेकी हुन् ।

पश्चिम दाङको बबई गाउँपालिकाको हंसपुरमा रहेको पुरन्धारा स्वास्थ्य चौकीमा १५ शैयाको अस्पतालको भवनको शिलन्यास लुम्बिनी प्रदेश सांसद बिमला वलीले गरेकी छिन् ।

यस्तैगरी दंगीशरण गाउँपालिका वडा न. ६ बागरमा १५ सैयाको अस्पतालको भवन शिलन्यास संघिय सांसद हिराचन्द्र के.सी.ले गरेका छन् । यस्तैगरी शान्तीनगरको बाघमारे स्वास्थ्य चौकीमा अस्पतालको भवन शिलन्यास गरिएको छ । गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले भवन शिलन्यास गरेका छन् ।

दाङको छ स्थानिय तहमा अस्पताल निर्माणको भवन शिलन्यास गर्ने भनिएता पनि यस अघि घोराहीको लक्ष्मीपुर स्वास्थ्य चौकीमा अस्पतालको भवन शिलन्यास भईसकेको छ भने बंगलाचुली गाउँपालिकामा १५ शैयाको अस्पताल बनाउने योजना अनुसार भवन निर्माण भई अहिले अस्पातलबाट केहि सेवा सुचारु भइरहेको गाउँपालिकाका प्रेस संयोजक जिवन नेपालीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे