देउखुरीकाे सिसहनियाँमा १५ सैयाको अस्पताल शिलान्यास



देउखुरीकाे सिसहनियाँमा १५ सैयाको अस्पताल शिलान्यास

सन्ताेषकुमार गुप्ता, सिसहनियाँ १५ मंसिर ।

देउखुरीकाे सिसहनियाँमा १५ सैयाको अस्पताल निर्माणका लागि भवनको शिलान्यास गरिएको छ । राप्ती गाउँपालिका वार्ड नम्बर ५  कालापानी स्थित सिसहनियाँ स्वास्थ्य चौकी नजिकै सार्वजनिक जग्गामा १५ शैयाको आधारभूत अस्पतालकाे  प्रतिनिधिसभा सदस्य सासद गंगा चौधरीले शिलान्यास गरेकी हुन् । ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर अस्पताल नभएका स्थानीय पालिकाहरुमा  ५, १० र १५ शैया सम्मको अस्पतालको भवन बनाउने योजना अनुसार उक्त अस्पताल भवनको शिलान्यास गरिएको स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए ।

अस्पताल भवनका लागि आवस्यक पर्ने जग्गाको रुपमा हाललाई स्थानीय नागरिकको सहयोग तथा सरोकारवालाहरुको सहयोगमा करिब १३ कट्ठा सार्वजनिक जग्गा उपलब्ध गराइएको र थप जग्गाको लागि समेत पहल गरिने वडा नं ५ का अध्यक्ष गोवर्धन रावतले जानकारी दिएका छन् ।

 

१५ शैयाको आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरिसकेको र अस्पतालको भवन निर्माणका लागी सरकारले सम्वन्धित स्थानीय पालिकालाई आंशिक बजेट समेत पठाईसकेकाले तत्काल भवनको लागत ईष्टिमेट, डिपीआर तथा सोयल टेस्टको काम अघि बढाईने गाउँपालिकाका ईन्जिनियर अशोक बेल्वासेले जानकारी दिए । यस आर्थिक बर्ष २०७७/०७८ मा उक्त अस्पताल निर्माणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक कराेड रकम बिनियाेजन गरेकाे ईन्जिनियर बेल्वासेले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ शैयाको अस्पताल हुनेमा राप्ती गाउँपालिकाको सिसहनियाँ स्वास्थ्य चौकी, पश्चिम दाङको दंगीशरणमा श्रीगाउँ स्वास्थ्य चौकी, बबई गाउँपालिकाको पुरन्धारा स्वास्थ्य चौकी, शान्तिनगरको बाघमारे स्वास्थ्य चौकी र बंगलाचुली गाउँपालिकाको कमिरेचौर स्वास्थ्य चौकी रहेका छन् ।

अब गाउँमै अस्पताल बन्ने भएपछि स्थानीयबासीहरु थप हर्षित भएका छन् । सिसहनियाँमा अस्पताल बनेपछि देउखुरीकाे राप्ती गढवा राजपुर गाउँपालिका र लमही नगरपालिकाका हजाैराै‌ नागरिकहरु लाभन्दित हुने विश्वास गरिएकाे छ ।

यस्तैगरी सल्यानको कपुरकोट स्वास्थ्य चौकी, बन्गाड कुपिन्डे नगरपालिकाको देवस्थल स्वास्थ्य चौकी, कालिमाटी गाउँपालिका अन्र्तगत कालिमाटी स्वास्थ्य चौकी, कुमाख गाउँपालिकाको कालागाउँ आधारभुत स्वास्थ्य केन्द्र र दार्मा गाउँपालिकाको भालचौर स्वास्थ्य चौकी, रोल्पाको रुन्टीगढीमा होलेरी प्राथमिक स्वास्थ्य केन्द्र, सुनिलस्मृति गाउँपालिकाको सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्र, माडी गाउँपालिकाको घर्तिगाउँ स्वास्थ्य चौकी, थवाङ गाउँपालिकामा थवाङ स्वास्थ्यचौकी,परिवर्तन गाउँपालिका र त्रिवेणी गाउँपालिकाको नेर्पा स्वास्थ्य चौकीमा १५/१५ शैयाको अस्पताल भवन निर्माण हुने भएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रमा १०/१० शैयाको आधारभुत अस्पतालको भवन निर्माण हुने मन्त्रालयले जानकारी दिएको छ । यी सबै अस्पताल दुई वर्षभित्र बनाइसक्ने सरकारको लक्ष्य छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे