देउखुरीकाे गढवामा हरियो वन कार्यक्रम फेजआउट



देउखुरीकाे गढवामा हरियो वन कार्यक्रम फेजआउट

एक कार्यक्रमका बीच गाउँपालिकालाई हस्तान्तरण

शिबराज पन्थी, गढवा २६ कार्तिक ।

बिगत दश बर्ष अगाडी देखि देउखुरीकाे गढवा गाउँपालिकाका बिभिन्न क्षेत्रहरुमा संचालन भएको हरियो वन परियोजनाको कार्यक्रम समापन भएको भन्दै मंगलबार एक कार्यक्रमका बीच गढवा गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

हरियो वन कार्यक्रमले गढवा स्थित वन तथा वातावरण समन्वय समिति,सरकारका स्थानीय निकाय तथा संघसंस्थाहरुसंगको समन्वयमा वन वातावरण र जैबिक विविधताको संरक्षण,जलवायु परिवर्तन अनुकुलन, जिविको पार्जनमा सुधार र सामुदायिक वन समूहहरुमा सुशासनको पाटोमा सन् २०११ देखि बिभिन्न कार्यक्रम संचालन गर्दै आएको र त्यसको बिस्तृत समिक्षाका साथ परियोजनाको अवधि सकिएपछि निरन्तरताका लागि स्थानीय सरकारलाई हस्तान्तरण गरिएको संरक्षणकर्मी एवं सिएफसिसी गढवाका अध्यक्ष उमाकान्त पन्तले बताए ।

गढवा गाउँपालिकाकाको आयोजना हरियो वन कार्यक्रमको सहयोगमा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अधयक्षतामा भएको हरियो वन कार्यक्रम उपलब्धि तथा सिकाइहरुको हस्तान्तरण कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, स्थानीय वन महासंघ, चोरी शिकारी नियन्त्रण दलका प्रतिनििध, सामुदायिक वनका अगुवा, वन वातावरण समन्वय समितिका पदाधिकारी एवं पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा हरियो वन कार्यक्रम नेपालका प्रमुख डा.शान्तराज ज्ञवाली, उपप्रमुख सन्देश हमाल,डब्ल्यू–डब्ल्यू एफ नेपालका शिबराज भट्ट, संरक्षण बिज्ञ इनिज मानान्धर लगायतले जुम मिटिङ मार्फत हरियो वन कार्यक्रमले दशबर्ष सम्म गढवा गाउँपालिका क्षेत्रमा गरेका गतिविधि,सिकाइ उपलब्धि र भाबी कार्यदिशाका बारेमा बोलेका थिए ।

जस अनुसार हरियो वन कार्यक्रमले वन तथा वातावरण संरक्षण समन्वय समिति गढवासंगको सहकार्यमा सिमुदायमा आधारित १६ वटा चोरी शिकार नियन्त्रण इकाई  गठन तथा सञ्चालन गरि ३४ जना महिलाहरु तथा १२ जना दलितहरु समुदायका युवाहरु गरी १८५ स्वयंसेवी युवाहरु परिचालन गरेर चोरी शिकारी तथा चोरी तष्करी नियन्त्रणमा काम गरेको छ ।

त्यस्तै ११ वटा सामुदायिक वनहरु र विद्यालयका खुल्लाचौर गरि ८१.४५ हेक्टर क्षेत्रमा वृक्षारोपण गरेको, ५३ किमी तारबार निर्माण तथा मर्मत गरी नदी तटीय तथा वनक्षेत्रको पुनस्र्थापना गरेको, १२ वटा सामुदयिक वन अन्तर्गत २९५ घरधुरीमा बायोग्याँस तथा सुधारिएको चुलोहरु निर्माणमा सहयोग गरेको, कुलपानी सामुदायिक वनलाई नमुना वन बनाउनका लागि विभिन्न तालिम तथा प्राविधिक सहयोग गरेको र ८ वटा सामुदायिक वन अन्तर्गत २६१ घरधुरीमा सुधारिएको चुलोहरु निर्माणमा सहयोग गरेको कार्यक्रममा बताइएको हो ।

यसैगरी साना उद्यम अन्तर्गत ६६ जना उद्यमीहरुलाई माटोको भाँडा बनाउने, सःमिल, तरकारी खेती र सालको टपरी बनाउने तालिम प्रदान गरिएको, ३५ जना युवाहरुलाइ सिपमुलक सिकर्मी, वायरिङ्ग, प्लम्बिङ्ग र व्यवसायिक तरकारी खेती तालिम प्रदान गरिएको,आयआर्जनका लागि घुम्ती कोष परिचालन गरिएको ( ८ जना लाभान्वित ), ७ वटा सामुदायिक वन भित्रका नदितटीय र खुल्ला तथा हैसियत विग्रिएका १३५.६ हे. क्षेत्रमा ९८,३५५ विभिन्न जातका विरुवा रोपण तथा व्यवस्थापनमा सहयोग गरी कम्दि जैविकमार्ग पुनर्उत्थान गर्न सहयोग पुगेको छ ।

त्यस्तै मानव वन्यजन्तु द्वन्द्वका पिडित परिवारलाई राहत वितरणमा सहयोग पु¥याएको,३५ जना वनमा आश्रित व्यक्ति, विपन्न व्यक्तिहरुलाई सीपमूलक तालिम प्रदान जसबाट मासिक रु ४ हजार देखि रु ३० हजार सम्म आम्दानी गर्न सफल भएको बताइएकाे छ ।

त्यस्तै वनमा आश्रित समुदायहरूको लागि वैकल्पिक जीविकोपार्जनका उपायहरुले उनीहरूको आम्दानी बढाउन मद्दत पु¥याएका साथै दाउरा, ईन्धनका लागि काठ, वन्यजन्तु शिकार र व्यापारमा कमी ल्याउनुका साथै जैविक विविधता संरक्षणमा उनीहरूको सहभागितामा बृद्धि गरेको, जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण सम्बन्धी सचेतना बृद्धि तथा क्षमता बिकास, ६ वटा समुदाय स्तरका अनुकूलन योजना तयारी, मूलप्रबाहिकरण तथा कार्यान्वयन, २ वटा संरक्षण पोखरी निर्माण, १० वटा स्थानमा तटबन्ध÷नदि कटान नियन्त्रणका कामहरु सम्पत्र त्यस्तै सफा खानेपानीको उपलब्धता, जोखिम भएका स्थानमा बृक्षरोपण तथा तारबार तथा चेतनामुलक कार्यक्रम सञ्चालन र लैगिक समानता र समाबेशिकरणका बिभिन्न कार्यक्रमहरु संचालन भएको कार्यक्रममा जानकारी गराइएको हो ।

दश बर्षसम्म उपरोक्त कार्यहरु सम्पन्न गर्न हरियोवन कार्यक्रमले कुल २ करोड ९३ लाख रकम खर्च गरेको पनि कार्यक्रममा जानकारी गरिएको हो । जसमा जैबिक विविधता संरक्षण क्षेत्रमा ६४ प्रतिशत,जलबायु परिवर्तन अनुकूलन क्षेत्रमा ३१ प्रतिशत र सामुदायिक वनहरुको शुसासनको क्षेत्रमा ५ प्रतिशत लगानी गरिएको सिएफसिसी गढवाका अध्यक्ष उमाकान्त पन्तले जानकारी दिए ।

हरियो वन कार्यक्रमको अबधि सकिएपछि बिधिवत रुपमा गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । वनवाताबरण र जैबिक विविधताको संरक्षण, बगरलाई हरियाली बनाउने अभियान, सामुदायिक वनहरुको तारवार तथा तटबन्धन, जिविकोपार्जनका कार्यहरु र सामुदायिक वनहरुमा गरिएको सुशासनको पाटो सबैप्रति गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले हरियो वन कार्यक्रमलाई धन्यवाद दिदै आगामी दिनमा गाउँपालिकाले यस क्षेत्रमा बिशेष योजनाका साथ कामगर्ने बताए ।

कार्यक्रममा वडाध्यक्षहरु बालचन्द्र ठकूरी हमाल, भक्तु चौधरी, सद्दाम सिद्दिकी, वन महासंघका नवराज शर्मा, सामुदायिक वन समूहका चित्रबहादुर महतरा, चेरी शिकारी नियन्त्रण दलका भिमबहादुर थापा, रिता चौधरी लगायतले बोलेका थिए ।

कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ संरक्षणकर्मी उमाकान्त पन्तले दिएका थिए ।  गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको जुम कार्यशालाको सहजीकरण गाउँपालिकाका प्रबक्ता बाबुराम अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे