घोराहीको अक्सिजन प्लान्टमा फिडरलाईन जोडियो



घोराहीको अक्सिजन प्लान्टमा फिडरलाईन जोडियो

तुलसीपुर २४ बैशाख । दाङ घोराहीस्थित अस्किजन प्लान्टमा बिहीवार फिडरलाईन जडान भएको छ । बुधबारदेखि नै त्यहाँ फिडरलाईन जडानको काम सुरु भएको थियो । बिद्युतको फिडरलाईन जडान भएसंगै घोराही उपमहानगरपालिका वडा नं. ३ झिङ्नीस्थित बन्द अवस्थाको अक्सिजन प्लान्टले फेरि तत्कालै उत्पादन सुरु गर्ने तयारी भइरहेको उद्योग सञ्चालक भरत पौडेलले फरककोणलाई बताए ।

बुधबारदेखि नै उद्योगमा फिडरलाईन जोड्ने काम सुरु भइसकेको बिहिबार बेलुका सम्म फिडरलाईन जोड्ने काम पुरा हुने भरत पौडेलले जानकारी दिए । फिडरलाईन जोड्न काम पुरा भएर बिहीबार रातिदेखि नै अक्सिजन उत्पादन सुरु हुने र दैनिक उद्योगबाट एकसय २०÷३० सिलिण्डर ग्यास उत्पादन गर्न सकिने पौडेलले बताए ।

‘ हामीले पहिले निजी खर्चमा १५० केभिएको ट्रान्सफर्मर जडान गरेर उत्पादन गर्दै आएका थियौं,’ पौडेलले भने ‘तर, यसपाली फिडरलाईनका लागि सरकारले नै आँफै छुट्टै आफ्नै ट्रान्सफर्मर र अन्य उपकरण ल्याएर जोडिदिएको छ ।’ २०७३ सालमा स्थापना भएको दाङ अक्सिजन उद्योग प्रालिले दूई बर्ष उत्पादन गरेपनि बिद्युत आपुर्तीमा भएको समस्याले बिगत दूई तीन बर्ष यता उत्पादन बन्द गर्दै आएको थियो ।

करिब करिब चार करोडको लगानीमा स्थापना भएको उद्योग बन्द भएपछि अक्सिजनको लागि दाङ जिल्ला बाँके लगाएतका जिल्लाहरुमा निर्भर हुनु परिरहेको थियो । तर, अहिलेको कोरोना भाइरस महामारीको समयमा बिरामी अस्पतालहरुमा अक्सिजन नपाएको खवरहरु सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको सक्रियतामा पुनः बन्द उद्योग सञ्चालनमा आउन लागेको हो ।

दूई दिन अगाडि मात्रै घोराहीका मेयर नरुलाल चौधरीको समन्वयमा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल, जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्द, राष्ट्रिय अनुसन्धानका निर्देशक अर्जुन भण्डारी, नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र घोराहीका प्रमुख अमितकुमार कर्ण र अक्सिजन उद्योगका सञ्चालक पौडेलका बीचमा सहमति भएको थियो ।

सहमति अनुसार बुधबारदेखि नै उद्योगमा फिडरलाईन जोड्ने काम सुरु भएको थियो । आधाकाम भएपनि बुधबारको बर्षा र हावाहुरीले काममा बाधा पुगेको हुँदा बिहिबार त्यो कामा पुरा हुने पौडेलले बताए । पौडेलका अनुसार महामारीको प्रकोप सकिएपछि फेरि हाल जडान गरिएका सबै सामाग्री निकालेर लैजाने सहमति भएको जानकारी दिए ।

दाङमै अक्सिजन उत्पादन हुन थालेपछि अब जिल्लाका अस्पतालहरुमा बिरामीलाई आपत बिपद जतिखेरपनि अक्सिजन सिलिण्डर ल्याउन सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे