LISTEN LIVE RADIO

चिसो र वर्षाका कारण लमही महोत्सव प्रभावित : आज बोलाइएका कलाकारहरूको प्रस्तुती भोली रहने



चिसो र वर्षाका कारण लमही महोत्सव प्रभावित : आज बोलाइएका कलाकारहरूको प्रस्तुती भोली रहने

लमही १८ माघ । चिसो र वर्षाका कारण लमहीमा जारी महोत्सवमा आंशिक प्रभाव परेको छ ।

लमही चेम्बर अफ कमर्सको आयोजनामा लमही स्थित अजम्बरी सामुदायिक वनको जैविक विविधता ग्रिन पार्कमा सञ्चालित दोस्रो कृषि, पर्यटन, उद्योग तथा व्यापारीक महोत्सवको बिहीबार १४ औं दिन विहानै देखि माैसम अत्यधिक चिसो बढेको र दिउँसो पानी परेपछि दर्शकको सहभागीता समेत न्युन रहेकोले बिहीबारका लागि बोलाइएका राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुती शुक्रबार रहने कलाकार संयोजक शिवु खनालले जानकारी दिएका छन् । बिहीबारका लागि बोलाइएका कलाकारहरू गायिका मेलिना राई, गायक नरेश खाती, गायिका संझना लामिछाने, रितु कडेल, गायिका तथा उद्घोषिका मञ्जु पाैडेल, मोडेल दिलु सुनार लगायतका कलाकारहरूको प्रस्तुति शुक्रबार रहने संयोजक खनालले जानकारी दिएका छन् ।

यद्यपी महोत्सव भने रोकिएको थिएन् । राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति नरहेपनि राष्ट्रिय संगीतकर्मी संघका दाङ जिल्ला अध्यक्ष तथा गायक, मोडेल दिपक वलीले विभिन्न गीत मार्फत उपस्थित दर्शकहरूलाई मनोरञ्जन दिएका थिए । भने पिडिएच डान्स स्टुडियो र स्थानीय कलाकारहरूको भने प्रस्तुति रहेको थियो ।

जैविक विविधता ग्रिनपार्कलाई संरक्षण गर्ने तथा वनलाई पर्या पर्यटन प्रवद्र्धनका लागि विशेष सहयोग गर्ने मुख्य उदेश्यले लमही चेम्बर अफ कमर्सको आयोजनामा यही माघ ५ गते देखि २० गते सम्म लमहीको जैविक विविधता ग्रिन पार्कको छेउमा महोत्सव सञ्चालन गरिएको छ ।

महोत्सवमा विभिन्न १ सय ८० बढी स्टलहरु राखिएको छ भने देउखुरी क्षेत्रका विभिन्न कृषि उत्पादनका सामाग्री, घरेलु उद्योगबाट उत्पादित समाग्रीहरु, चर्खे पिङ, झुला, बाल उद्यान, लगायतका मनोरन्जनात्मक बस्तु राखिएको छ । महोत्सवमा स्थानीय उत्पादन प्रदर्शनी, बाल उद्यान, देउखुरीका हस्तकलाका सामाग्री बिक्री, महिला उद्यमीले तयार गरेका अचार लगायतका सामाग्रीमा जोड दिइएको छ । महोत्सव अवधीधर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

महोत्सव अवधिभर करिब ३ लाख दर्शकले अवलोकन गर्ने र ४० लाख बराबरको कारोवार गर्ने लक्ष्य राखेको चेम्बरका महासचिव केशव अधिकारीले जानकारी दिएका छन् । महोत्सवमा कृषि तथा स्वास्थ्यका स्टललाई निशुल्क गरिएको छ भने जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिक तथा असाहयहरूलाई परिचय–पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । त्यस्तै विद्यार्थीको हकमा परिचय–पत्रका आधारमा ८० रूपैयाँ र सर्वसाधारणका लागि लागि १ सय रूपैयाँ टिकट कायम चेम्बरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे