LISTEN LIVE RADIO

राष्ट्रिय रचनात्मक लेखन प्रतियोगितामा दाङका पत्रकार केसीको लेख उत्कृष्ट



राष्ट्रिय रचनात्मक लेखन प्रतियोगितामा दाङका पत्रकार केसीको लेख उत्कृष्ट

काठमाण्डौ १७ कार्तिक । राष्ट्रिय रचनात्मक लेखन प्रतियोगितामा कान्तिपुर दैनिकका उपसम्पादक दुर्गालाल केसी प्रथम भएका छन् । कोरोना महामारीका क्रममा सुरक्षित सिकाई परियोजना अन्तर्गत एस्डिजी स्टुडियोद्वारा आयोजित रचनात्मक प्रतियोगिता २०७७ मा केसीको “सुरक्षित बालापनमा सुन्दर सिकाई कसरी ?” शिर्षकको लेख उत्कृष्ट भएको हो ।

युवाहरुको प्रतिभा प्रस्फुटन, क्षमता अभिवृद्धि र हौसला प्रदान गर्नुका साथै युवाहरुलाई कोरोना भाइरसको महामारीको अवस्थामा पनि सुरक्षित सिकाई वातावरणको महत्व र बुझाइबारे सक्रिय राख्न प्रतियोगिता आयोजना गरिएको थियो ।

कविता, गीत, कथा, लेख र चित्र तथा हस्तकलाको लागि १५० जनाले रचना पठाएका थिए । उपलब्ध रचनाहरुमध्ये हरेक विधाबाट उत्कृष्ट ५÷५ जना छनोट गरी पुनः प्रतिस्पर्धा गराइएको आयोजक एस्डिजी स्टुडियोका कार्यक्रम व्यवस्थापक निरज न्यौपानेले जानकारी दिएका छन् ।

रचनात्मक प्रतियोगिताका पाँच बिधामध्ये लेखतर्फ केसीको सुरक्षित बालापनमा सुन्दर सिकाई कसरी ?, कथातर्फ डा. सम्पदा भट्टराईको आमाको स्नेह, कवितातर्फ तारानाथ पराजुलीको कर्णधार, गीततर्फ यज्ञराज जोशीको छाउगोठ र चित्रकला वा हस्तकलामा उजेली सुनारको समानताको समाज शिर्षकका रचना उत्कृष्ट भएका हुन् ।

सम्पूर्ण विजेताहरुलाई प्रोत्साहन स्वरुप नगद रु. १० हजार, प्रमाण पत्र र मायाको चिनो प्रदान गरिने न्यौपानेले बताए । प्रतियोगितामा सहभागीले आफ्नो घर, विद्यालय र समाजमा सुरक्षित वातावरणको परिकल्पना र बालबालिकाहरु वा किशोरकिशोरीमाथि हुने हिंशा वा दुव्र्यवहारबाट सुरक्षित रहन सकिने चेतनामुलक रचनाहरुमा केन्द्रित हुनुपर्ने नियम थियो ।

यसका साथै भिडियो वा फिल्ममा रुची भएका २० जना युवाहरु छनोट गरी ३ दिने छोटो फिल्म निर्माण सम्बन्धी तालिम आयोजना गरिएको थियो । तालिम पश्चात ‘सुरक्षित सिकाई’ अन्तर्गत छोटो फिल्म प्रतियोगिता पनि संचालन गरिएको थियो ।

उक्त प्रतियोगितामा ११ वटा छोटो फिल्महरुबीच प्रतिस्पर्धा गरिएको थियो । छोटो फिल्मको मूल्यांकन निर्णायक समितिले ७० प्रतिशत र सामाजिक संजालमा आएको सेयर र भिडियो हेरेको संख्याको आधारमा ३० प्रतिशत मूल्यांकन गरिएको थियो ।

उक्त प्रतियोगितामा कुलराज चौधरी र निर्मला चौधरीको ‘रोशनीको कथा’ शिर्षकको छोटो फिल्म प्रथम, जेस ठकुरीको ‘उज्यालो भविष्य’ शिर्षकको फिल्म दोस्रो र सुनिल भण्डारी र खिमा खातीको ‘छाउ–पछाडी’ शिर्षकको फिल्म तेस्रो भएका छन् । फिल्मका विजेतामध्ये प्रथमलाई २० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ८ हजार नगद् पुरस्कार प्रदान गरिने न्यौपानेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे