घोराहीमा नेकपाको जिल्ला पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखियो
तुलसीपुर २४ फागुन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला पार्टी कार्यालय भरतपुर दाङमा सोमवार बेलुका नेकपा एमालेको बोर्ड राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेकपाका नेता कार्यकर्ताले पार्टी कार्यालयको नाम परिवर्तन गरि नेकपा एमाले लेखेका हुन । ओली समुहका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षता र केन्द्रीय सदस्य मेनका पोखरेलको प्रमुख आथित्यमा पार्टी कार्यालयको बोर्ड बिधिबत रुपमै परिवर्तन गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।कार्यक्रमको सहजीकरण जिल्ला सचिव मनोहर बुढाथोकीले गरेका थिए । त्यस क्रममा उनीहरुले नेकपा एमाले जिन्दाबाद भन्दै नाराबाजी समेत गरेका थिए ।
पार्टी कार्यालयको बोर्ड परिवर्तन गरेसंगै उनीहरुले पार्टी कार्यालयमा मैन बत्ति समेत बालेर खुसियाली मनाएका थिए । त्यसक्रममा ‘सैपनि एमाले, मैपनि एमाले’ भन्ने गीत बजाएर नाचगान गरी रमाईलो गरिएको थियो । नाम परिवर्तन पछि नेकपा एमाले जिन्दाबाद, केपी ओली जिन्दाबाद भन्ने नारापनि लगाइएको थियो । सर्बौच्च अदालतको आइतबारको फैसला अनुरुप आफुहरुले पार्टी कार्यालयको नाम परिवर्तन गरेको बस्नेतले जानकारी दिए ।
उनले घोराहीस्थित जिल्ला पार्टी कार्यालय, तुलसीपुरस्थित अञ्चल पार्टी कार्यालय र लमही स्थित क्षेत्रीय पार्टी कार्यालय लगाएत सबै सम्पत्ति अहिलेपनि नेकपा एमालेकै नाममा रहेको हुँदा आफ्नो कार्यालयको नाम परिवर्तन गरेको जानकारी दिए । तुलसीपुरस्थित अञ्चल पार्टी कार्यालयमा मर्मत संभारको काम चलिरहेको हुँदा त्यहाँ मंगलवार बोर्ड परिवर्तन गर्ने कि अलि पछि गर्ने भन्ने बारेमा टुँगो लाग्न बाँकी रहेको बस्नेतले जानकारी दिए । सर्वौच्चले नेकपाको नाम विवाद फैसला गर्ने क्रममा ऋषि कट्टेललाई प्रदान गरेसंगै नेपाल कम्युनिष्ट पाटी (एकिकृत माक्र्सवादी लेलीनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग– अलग राजनीतिक पार्टीको अस्तित्वमा फेरि ब्यूँतिएका हुन ।