प्रतिनिधिसभा विघटन : निवेदकका तर्फबाट बहस सकियो
काठमाडौं ३ फागुन। प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा रिटमाथि निवेदकका तर्फबाट बहस सकिएको छ । सोमवार वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्णप्रसाद भण्डारी, रमण श्रेष्ठ, गोविन्द बन्दी, टीकाराम भट्टराई लगायतले प्रतिनिधिसभा विघटनको विरोध र संसद् पुनर्स्थापनाको पक्षमा बहस गरेसँगै निवेदकका पक्षबाट बहस सकिएको छ ।
सोमवारको बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद् प्रधानमन्त्रीको नोकर नभएको बताउनुभयो । थापाले प्रधानमन्त्रीले संसद्लाई नोकर सम्झिएको आरोप लगाउँदै प्रतिनिधि सभा विघटनको अधिकार कुनै पनि प्रधानमन्त्रीलाई नभएको दाबी गरे ।
उहाँले प्रधानमन्त्री पक्षका वकिलले भनेजस्तो अहिलेको संविधानले प्रधानमन्त्रीलाई श्री ३ र श्री ५ लाई जस्तो अधिकार नदिएको बताए । अब मङ्गलवारदेखि अदालतको सहयोगी एमिकस क्युरीको राय सुरु हुनेछ ।
सर्वोच्चबारका दुई जना र नेपाल बार एसोसिएशनका तीन जना सदस्य रहेको एमिकस क्युरीका सदस्यले आफ्नो राय व्यक्त गरेपछि सर्वोच्चको संवैधानिक इजलासले फैसला सुनाउनेछ ।