लुम्बिनी प्रदेशमा प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर
भालुवाङ १ साउन । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी)मा बसेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश सरकारका सचिवहरूको जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।
प्रदेश सचिव भरतमणि पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । हाल आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव रहनुभएकी सुशिला अर्याललाई सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएको छ । त्यस्तै, सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारीलाई शिक्षा तथा सामाजिक विकास निर्देशनालयको जिम्मेवारी प्रदान गरिएको छ । बैठकमा आर्थिक वर्ष २०८२\०८३ को वित्तीय प्रगतिको समीक्षा पनि गरिएको छ । सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेका अनुसार चालुतर्फ ६७ दशमलव ७७ प्रतिशत र पुँजीगततर्फ ६६ दशमलव ८० प्रतिशत खर्च भएको जानकारी मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गरिएको थियो ।
यसैगरी, प्रमुख सचिव कृष्णप्रसाद काप्रीले संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाउनुभएको छ । उक्त प्रतिवेदनको अध्ययनपछि आगामी मन्त्रिपरिषद् बैठकबाट आवश्यक निर्णय गरिने सरकारका प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।
