भालुवाङमा बहुप्रकोप पूर्वतयारी तथा प्रतिकार्य योजना गोष्ठी सम्पन्न



भालुवाङमा बहुप्रकोप पूर्वतयारी तथा प्रतिकार्य योजना गोष्ठी सम्पन्न

भालुवाङ १ साउन । लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा बहुप्रकोप विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ सम्बन्धी अन्तर–विषयगत क्षेत्रीय गोष्ठी राप्ती गाउँपालिका–१ भालुवाङमा सम्पन्न भएको छ।

विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी प्रतिकार्य प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित गोष्ठीमा प्राकृतिक तथा मानव सिर्जित विपद्को जोखिम व्यवस्थापन, पूर्वतयारी, उद्धार, राहत वितरण तथा पुनःस्थापनासम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो। विशेषगरी मनसुनजन्य विपद्, बाढी, पहिरो, डुबान, चट्याङ तथा अन्य प्राकृतिक प्रकोपबाट हुन सक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्न आवश्यक रणनीति, योजना तथा समन्वयका विषयमा सहभागीहरूले धारणा राखेका थिए। कार्यक्रममा विपद्का समयमा प्रभावकारी समन्वय कायम गर्ने, समयमै सूचना आदान–प्रदान गर्ने, उपलब्ध स्रोत–साधनको उचित व्यवस्थापन गर्ने तथा विभिन्न क्लस्टरहरूको जिम्मेवारी र भूमिकालाई स्पष्ट रूपमा कार्यान्वयन गर्ने विषयमा प्रस्तुतीकरण गरिएको थियो। विपद्को अवस्थामा द्रुत प्रतिकार्य र उद्धार कार्यलाई प्रभावकारी बनाउन स्थानीय तहदेखि प्रदेशस्तरसम्मको समन्वयलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याइएको थियो।

सहभागीहरूले विपद् व्यवस्थापन केवल विपद् आइसकेपछि गरिने कार्य नभई पूर्वतयारी, जोखिम पहिचान र सचेतनामूलक गतिविधिमार्फत क्षति न्यूनीकरण गर्न सकिने भएकाले यस क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताएका थिए। उनीहरूले विपद् व्यवस्थापन योजनालाई व्यवहारिक, कार्यान्वयनयोग्य र स्थानीय आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने सुझावसमेत दिएका थिए। गोष्ठीमा बहुप्रकोप विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ को मस्यौदामाथि विस्तृत छलफल गर्दै सहभागीहरूबाट विभिन्न सुझाव संकलन गरिएको थियो। सुझावहरूलाई समेटेर योजनालाई थप प्रभावकारी, समावेशी र परिणाममुखी बनाइने मन्त्रालयले जनाएको छ। साथै विपद् व्यवस्थापनका क्रममा राहत, उद्धार तथा पुनःस्थापना कार्यलाई व्यवस्थित र छिटोछरितो बनाउन आवश्यक नीति तथा कार्यविधिहरूलाई पनि सुदृढ बनाउने विषयमा जोड दिइएको थियो।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त सचिव सुरेशचन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुपरपरियोजना युनिसेफका प्रदेश संयोजक डम्बर बोहोराले सहजीकरण गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन मन्त्रालयका विपद् सम्पर्क व्यक्ति भूपबहादुर मल्लले गरेका थिए। मन्त्रालयले प्रदेशस्तरमा विपद् व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउने, विपद् जोखिम न्यूनीकरणका लागि सबै सरोकारवाला निकायबीच सहकार्य अभिवृद्धि गर्ने तथा पूर्वतयारी र प्रतिकार्य क्षमतालाई प्रभावकारी बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ। गोष्ठीमा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, सुरक्षा निकाय, स्थानीय तहका पदाधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, रेडक्रस तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे