देउखुरीकाे राप्ती गाउँपालिकामा घर भित्रै घुसेर एक व्यक्तिको बिभत्स हत्या, तीन जना पक्राउ



देउखुरीकाे राप्ती गाउँपालिकामा घर भित्रै घुसेर एक व्यक्तिको बिभत्स हत्या, तीन जना पक्राउ

भालुवाङ १० माघ । देउखुरीमा घर भित्रै एक व्यक्तिको बिभत्स हत्या भएको छ । जिल्लाको राप्ती गाउँपालिका वडा नं. ६ पथ्थरगढवाका ४० बर्षीय मोतिराम चौधरीको माघ ७ गते मध्यराति बिभत्स हत्या भएको छ । मोतिरामको हत्या अरोपमा गाउँकै ३३ बर्षीय मोतिलाल चौधरी, उनका ठूला बुवा र काकाका छोराहरु ४८ बर्षीय मनिराम र ३८ बर्षीय धनबहादुर चौधरी पक्राउ परेका छन् । प्रहरीले यी तीनै जनालाई बिहीवार मध्यरातमा घरबाटै पक्राउ गरेको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दका अनुसार ती तीन जनाले मोतिरामलाई घर भित्रै घुसेर बिभत्स हत्या गरि घरदेखि ६ सय मिटर टाढा घिसार्दै लगेर कुलोमा फालेको अवस्थामा शव माघ ८ गते बिहान फेला परेको हो । जिल्ला प्रहरी प्रमुख एसपी चन्दका अनुसार घटना बुधवार मध्यरात तिर घटेको जानकारी दिए ।

‘मोतिलालसहित तीन काका भतिज मिलेर सुतेका मोतिरामलाई घर भित्रै घुसेर निकाली लाठी र दाउराको चिर्पटले प्रहार गरि मकैबारीमा हत्या गरेपछि राति नै घिसार्दै लगेर कुलोमा शव फालेको अनुसन्धानबाट खुल्न आएको छ,’ एसपी चन्दले भने ‘ पक्राउ परेका तीनै जनाले घटना आफुहरुले नै घटाएको प्रहरी समक्ष स्वीकार गरि सकेका छन् ।’

हत्या गरिएका मोतिराम आफ्नो सानो झिंगटीले बारेको घरमा एक्लै बस्दै आएका थिए । उनले हालसम्म बिबाह गरेका थिएनन् भने उनकी आमा उनी नाबालक छँदा नै बितेको र बाबुपनि बेपत्ता भएका थिए । मोतिराम सानैदेखि माउली घरमा बसेर हुर्केको भन्ने कुरा अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।

एसपी चन्दका अनुसार हत्या भएकै दिन माघ ७ गते बेलुकी पख मोतिराम छिमेकी मोतिलालको छोरीको बिहे भएको हुँदा त्यही पुगेका थिए । जहाँ मोतिरामले बिजुली बत्तिको बल्ब निभाइदिने वा फोर्ने जस्ता काम गरेका थिए ।

बिहे घर अन्धकार बनाउन खोजेपछि किन त्यसो गरेको भनेर मोतिलाल लगाएका मानिसहरुले उनलाई सामान्ने धक्कापक्का गर्दै लखेटेका थिए । त्यसपछि मोतिराम भाग्दै गएर आफ्नो घरमा सुतेका थिए ।उनी सुति सकेपछि तीन जना काका भतिज मिलेर मोतिराको घरमै पुगी उनको बिभत्स ह’त्या गरेको प्रहरीले बताएको छ ।

त्यसअघि झन्डै ६ महिना अगाडि मोतिराम र मोतिलालका बीचमा सामान्ने झैंझगा समेत भएको थियो । त्यतिबेला उनीहरुले एक अर्का विरुद्ध प्रहरीमा सार्वजनिक मुद्दा समेत दायर गरेको अनुसन्धानमा देखिएको छ । त्यही पुरानो रिसीबिका कारण मोतिराम मोतिलालको बीचमा बोलचाल थिएन । सोही पुरानो रिसिबीलाई नै ह’त्याको प्रमुख कारण जस्तो देखिन आएको प्रहरीले बताएको छ ।

पक्राउ परेका तीनै जना घटना लगतै फरार रहेका थिए । तर उनीहरु सबै फेरि माघ ८ गते राति मध्य रातमा घरमा आएको खवर पाए लगतै प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेका तीनै जना विरुद्ध दाङ देउखुरी जिल्ला अदालतबाट थप अनुसन्धानका लागि शुक्रवार दश दिनको म्याद थप भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे