लुम्बिनी प्रदेशको राजधानी देउखुरीलाई नमुना सहर बनाउने तयारी



लुम्बिनी प्रदेशको राजधानी देउखुरीलाई नमुना सहर बनाउने तयारी

भालुवाङ ८ माघ । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीलाई अन्तर्राष्ट्रिय स्तरको राजधानी बनाउने गरी काम अघि बढाइएको छ । राप्ती नदीको किनारलाई समेटेर बनाउन लागेको स्थायी राजधानी पूर्णरुपमा आधुनिक सहरका रुपमा विकास गर्ने योजनामा लुम्बिनी प्रदेश सरकार लागेको छ ।

त्यसका लागि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन गरिएको छ । प्राधिकरणको कार्यालय देउखुरीमै स्थापना गरेर छिट्टै काम पनि थाल्ने तयारी छ । स्थायी राजधानीको टुङ्गो लागेपछि प्रदेश सरकारको योजनाअनुसारको व्यवस्थित सहर निर्माणका लागि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन गरी सबै योजनावद्ध ढंगले अघि बढाइएको छ ।

प्राधिकरणले पहिलो चरणमा राजधानी घोषणा गरिएको क्षेत्रको स्थलगत अवलोकन गर्ने, राजधानीको लागि गुरुयोजना निर्माण गर्न कन्सल्टेन्सी छनाेट गर्नेलगायतका काम सुरु गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैंयाले बताए  ।  ‘राजधानीको लागि मास्टर प्लान बनाउने काम भइरहेको छ’-प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत मजगैंयाले भने । ‘कन्सल्टेन्सी छनाेटको काम अब हुन्छ, मास्टर प्लानमा कस्तो सहर हुने त्यसको प्रारुप बन्छ, प्रदेश संरचना बनाउने काम सुरु हुन्छन् । डीपीआर बनाउँछौ । अनि बल्ल निर्माण चरणमा पुग्छौँ।’

तत्काल भवनहरु भाडामा ल्याएर काम चलाउन रुपमा प्रदेश राजधानी चलाउने योजनामा प्रदेश सरकार नभएको र त्यसका लागि आफूहरुलाई योजनावद्ध तरिकाले काम गर्ने निर्देशन प्राप्त भएको मजगैंयाले बताए । ‘राजधानीको काम व्यवस्थित रुपले फिल्डमै आएर गर्नका लागि हाम्रो कार्यालयले तत्कालै देउखुरीबाट काम थाल्दैछ -‘प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत मजगैंयाले भने । ‘अब हामी देउखुरीमा आयौँ अरु कार्यालय पनि बिस्तारै आउँछन् ।’

अन्तर्राष्ट्रिय स्तरको सहर बनाउने योजना

राप्ती नदीको खाली जग्गालाई व्यवस्थित गरेर लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीलाई देशकै नमुना अन्तर्राष्ट्रिय स्तरको सहर बनाउने गरी काम अघि बढाइएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले बताए । ‘जे छ त्यसैलाई टालटुल पारेर चलाउने वा हतारमा राजधानीको संरचना बनाएर फुर्सदमा पछुताउने काम गरिदैँन’ उनले भने ‘नेपालमा अहिले जस्ता राजधानी छन । त्यस्तै राजधानी बनाउनका लागि हामीले घोषणा गरेको होइन, अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि घोषणा गरेको हो ।’

व्यवस्थित सहर बनाउनका लागि चीनको सिचवान राज्यसँग सहकार्य थालिएको मुख्यमन्त्री पोख्रेलले बताउनुभयो । ‘केही समयअघि मात्रै हामीले चीनको सिचवान राज्यको प्राविधिक टोलीसँग राजधानी कस्तो हुनुपर्छ र गराउने भन्ने बारेमा भर्चुअल डाइलग गरिसकेका छौँ’-मुख्यमन्त्री पोख्रेलले भने । ‘कोभिडको असर कम भएपछि त्यो टोली देउखुरी आएर काम गर्ने सहमति समेत भइसकेको छ ।’

दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाले चर्चेको राप्ती नदीको किनारको मैदानी भाग लुम्बिनी प्रदेशको राजधानीका लागि संरचना निर्माण हुने मुख्य स्थल हो । प्रदेश सरकारले भनेको राप्ती उपत्यका, राप्ती नदीको दुवैतर्फको किनारी क्षेत्र भएकाले यसले प्यूठानको सरुमारानी गाउँपालिकाको केही भागलाई समेत समेट्ने गर्दछ ।

अर्घाखाँचीको शीतगंगा नगरपालिकाका दुई वटा वडालाई राप्ती नदीको पुलले भालुबाङसँग जोडेको छ भने पुरानो भालुबाङ बजार र लापेलाई झोलुङ्गे पुलले जोडेको छ । यस्तै गढवा गाउँपालिकालाई पनि राप्ती नदीमा निर्मित दुई वटा पुलले जोडेको छ ।

नेपालकै दोस्रो लामो पुल पनि यही क्षेत्रमा पर्दछ । नमुना सहर बनाउने संकल्प गरिएको क्षेत्रमा तराई र पहाड दुवैको अनुभूति गर्न पाइन्छ । अर्घाखाँचीको शीतगंगा नगरपालिका पहाडी क्षेत्र हो भने राप्ती गाउँपालिका र गढवा गाउँपालिका तराईको भू–भागमा पर्छन् । राजधानीका लागि आवश्यक पर्ने जमिन यो क्षेत्रमा प्रशस्त रहेको राप्ती गाउँपालिकाले जनाएको छ । गढवा गाउँपालिकाका तीन वडा र राप्ती गाउँपालिकामा गरी एक हजार ५ सय बिघाभन्दा बढी सरकारी जग्गा रहेको दुवै पालिकाले जनाएका छन् ।

आफूहरुले यसअघि नै प्रदेश सरकारलाई एक हजार बिघाभन्दा बढी जमिन राजधानीका लागि उपलब्ध गराउन सकिने प्रतिवेदन दिइसकेको राप्ती गाउँपालिकाका प्रमुख नुमानन्द सुवेदीले बताए । शीतगंगा गाउँपालिकाको दुई वटा वडामा पनि योजना निर्माण गरी बस्ती बसाल्न सहजै सकिने स्थानीयबासिन्दा बताउँछन् । त्यस क्षेत्रमा ठूला संरचना निर्माण नभएकाले योजनावद्ध तरिकाले काम गर्न सकिने स्थानीयको भनाइ छ । यो क्षेत्र नगरपालिका भित्र परे पनि अझै पनि डोको बोकेर हिँड्नु पर्ने क्षेत्र रहेको त्यस क्षेत्रका पूर्व जनप्रनिधिहरुको भनाइ छ ।

राजधानीका लागि प्रमुख आधार सबैको पायक पर्ने क्षेत्र हुनुपर्ने भूगोल विषयका प्राध्यापक डाक्टर धरणीधर सुवेदी बताउनु हुन्छ । भालुबाङ क्षेत्रबाट पश्चिमतर्फ बर्दियाको राजापुर र पूर्वतर्फ पश्चिम नवलपरासीको दूरी करिब १ सय ९० किलोमिटर, पूर्वी रुकुम र पाल्पाको पूर्वी भाग पनि भालुबाङबाट करिब २ सय १० किलोमिटरको दूरीमा पर्ने सुवेदीको भनाइ छ ।

यी दूरी अहिले चलनचल्तीमा रहेका सडकको हो । लुम्बिनी प्रदेशका मुख्य मन्त्रीले संसदलाई सम्बोधन गर्ने क्रममा नयाँ राजधानी जोड्नका लागि निर्माणाधीन सडकको काम द्रूत गतिमा हुने बताए । निर्माणाधीन ती सडकको काम सम्पन्न भएपछि पूर्वी र उत्तरी क्षेत्रका सबै  जिल्लासँगको दूरी झनै कम हुनेछ ।

प्रदेश सरकारको योजनाअनुसारले काम भए केही वर्षपछि नै राप्ती उपत्यका लुम्बिनी प्रदेशको राजधानी मात्र नभएर नेपालकै नमुना सहरका रुपमा विकास हुने निश्चित छ । प्रशस्त सम्भावना र नागरिकको भावनालाई बुझेर सबैलाई न्याय हुने गरी प्रदेश राजधानीको विषय टुङ्गिएको भन्दै मुख्यमन्त्री पोख्रेलले अब समय लगाएरै नवीनतम योजनाअनुसारको सहर विकास गर्ने अभियानमा प्रदेश सरकार लागेको बताए ।

‘अहिले जे भएको छ त्यसैमा कार्यालय खोल्ने भन्ने पक्षमा म छैन’- मुख्यमन्त्री पोख्रेलले भने- ‘व्यवस्थित योजनाका साथ अत्याधुनिक सहर निर्माण गर्ने हो त्यो हामी बनाउँछौ र राजधानी हेर्न आउने बनाउँछौँ । राजधानी यस्तो हुनुपर्छ भनेर दाङ हर्ने आउने बनाउँछौं ।’ प्राधिकरणले आफ्नो काम तीव्र गतिमा अघि बढाउने विश्वास धेरैको छ । अब देउखुरीबाट प्रदेशका धेरै कामहरु गर्ने गरी काम थालिएको प्रदेश सभा सदस्य रेवतीरमण शर्माले बताए ।

प्रदेशसभाको आउने बैठक देउखुरीमै गर्ने तयारी प्रदेशसभा सचिवालयको गरिरहेको शर्माले बताए । माघ १० गतेसम्म लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको कार्यालय देउखुरीमा उद्घाटन गर्ने गरी काम गर्न मुख्यमन्त्री पोख्रेल लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे