विगतको कमीकमजोरीलाई सच्चाएर पत्रकार सँग सहकार्य गरेर अघि बढ्छाै : मन्त्री अहिर



विगतको कमीकमजोरीलाई सच्चाएर पत्रकार सँग सहकार्य गरेर अघि बढ्छाै : मन्त्री अहिर
भालुवाङ २६ जेठ । लुम्बिनी प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरले विगतमा मन्त्रालयबाट भएका कमीकमजोरीलाई सुधार गर्दै सञ्चार क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले सञ्चार क्षेत्रका लागि विनियोजन गरिएका कार्यक्रम तथा बजेट कार्यान्वयनमा देखिएका समस्या समाधान गर्दै पत्रकारिता क्षेत्रको विकास र सुदृढीकरणमा प्रदेश सरकार गम्भीर रहेको बताए । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको समन्वयमा अर्घाखाँचीको सितगंगा नगरपालिका-८ सातमारामा आयोजित तीन दिने क्षमता विकास कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री अहिरले सञ्चार क्षेत्रका लागि विनियोजित बजेट कार्यान्वयन हुन नसक्नु दुःखद विषय भएको बताए । कार्यक्रममा पत्रकार महासंघका विभिन्न जिल्ला शाखाका अध्यक्षहरूले उठाएका जिज्ञासा तथा गुनासाहरूको जवाफ दिँदै मन्त्री अहिरले मन्त्रालय भित्र हुने ढिलासुस्ती र गैरजिम्मेवार कार्यशैलीलाई नियन्त्रण गरिने स्पष्ट पारे । उनले कार्यसम्पादनमा लापरवाही गर्ने कर्मचारीलाई आवश्यक कारबाही गरिने चेतावनी समेत दिए । “सञ्चार क्षेत्रका लागि प्रदेश सरकारले छुट्याएको बजेट कार्यान्वयन हुन नसक्नुमा नीतिगत तथा प्रक्रियागत केही समस्या रहेका थिए,” मन्त्री अहिरले भने, “अब ती कमजोरीलाई सच्याएर आगामी दिनमा पत्रकारिता क्षेत्रलाई प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रम सञ्चालन गरिने छ।”
उनले पत्रकारिता क्षेत्र लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै पत्रकार र सञ्चार माध्यमहरू राज्यका बलिया साझेदार रहेको बताए । पत्रकारिताले समाजलाई सही दिशा दिनुका साथै सरकारका गतिविधिमाथि निगरानी गर्ने भएकाले प्रदेश सरकारले सञ्चार क्षेत्रलाई बेवास्ता गरेर अघि बढ्न नसक्ने उनको भनाइ थियो। मन्त्री अहिरले पत्रकारहरूलाई सरकारका कामकारबाही माथि निरन्तर खबरदारी गर्न आग्रह गर्दै रचनात्मक सुझाव र आलोचनालाई प्रदेश सरकारले सकारात्मक रूपमा लिने बताए । “सरकारका कमीकमजोरी औंल्याइदिनुहोस्, हामी सच्याउन तयार छौं,” उनले भने, “पत्रकार र सरकारबीचको सहकार्यले मात्रै सुशासन र विकासलाई प्रभावकारी बनाउन सकिन्छ।” उनले प्रदेश सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले जनताका आवश्यकता, अपेक्षा र समस्यालाई सम्बोधन गर्न सबै क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताए। सञ्चार क्षेत्रसँगको सहकार्यले सरकारका योजना, नीति तथा कार्यक्रम जनतासम्म प्रभावकारी रूपमा पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । तीन दिनसम्म सञ्चालन भएको क्षमता विकास कार्यक्रममा पत्रकारितामा देखिएका नवीन चुनौती, सूचना प्रविधिको प्रयोग, डिजिटल पत्रकारिता, समाचार लेखन, तथ्य परीक्षण, सामाजिक सञ्जालको प्रभावकारी उपयोग तथा पत्रकारको पेशागत क्षमता अभिवृद्धिसम्बन्धी विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष  धर्मेन्द्र झाँले नेतृत्व विकास सँगै पत्रकारितामा प्रविधिको बढ्दो प्रभाव, कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग, बदलिँदो सञ्चार वातावरण र पत्रकारिताको विश्वसनीयता कायम राख्ने विषयमा सहजीकरण गरेका थिए । त्यसैगरी आइटी प्राविधिक किरण कौशलले डिजिटल सुरक्षा, अनलाइन प्लेटफर्मको प्रयोग तथा आधुनिक सञ्चार प्रविधिसम्बन्धी प्रशिक्षण दिएका थिए । मन्त्रालयका वरिष्ठ उपसचिव सुरेशराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्रालयका शाखा अधिकृत भुपबहादुर मल्लले सञ्चालन गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट पत्रकार महासंघका अध्यक्ष, सचिव, प्रदेश पदाधिकारी, सदस्य तथा सल्लाहकारसहित करिब ४० जना पत्रकारहरूको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे