देउखुरीको समग्र विकास आवश्यकताका आधारमा हुन्छ : प्रतिनिधि सभा सदस्य पाठक
भालुवाङ १५ वैशाख । राप्ती चेम्बर अफ कमर्स र राप्ती प्रेस मञ्चले मंगलवार राप्ती गाउँपालिका–५ सिसहनियाँमा दाङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य देवराज पाठकलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ ।
राप्ती चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष विष्णुप्रसाद सुवेदीको अध्यक्षता एवम् प्रतिनिधि सभा सदस्य देवराज पाठकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाठकले देउखुरी क्षेत्रको समग्र विकास आवश्यकताका आधारमा चरणबद्ध रूपमा अघि बढाइने बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै पाठकले विकासलाई व्यवस्थित, योजनाबद्ध र प्राथमिकतामुखी बनाइने स्पष्ट पारेका छन् । सांसद पाठकले देउखुरी क्षेत्रको भौगोलिक, सामाजिक तथा आर्थिक अवस्थालाई ध्यानमा राख्दै तत्कालीन आवश्यकताहरूको पहिचान गरी क्रमशः समस्या समाधान गर्दै लैजाने प्रतिबद्धता जनाए । “एकैपटक सबै समस्या समाधान सम्भव छैन,” उनले भने, “तर जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर योजनाबद्ध ढंगले काम अगाडि बढाइन्छ ।”
उनले विशेषगरी देउखुरीका नाका क्षेत्रहरूमा रहेका समस्याहरू औंल्याउँदै त्यहाँ अझै पनि खानेपानी, विद्युत्, सञ्चार जस्ता आधारभूत सेवामा कमी रहेको बताए । कतिपय स्थानमा नेपाली सेवा प्रभावकारी नहुँदा स्थानीयले भारतीय सिम प्रयोग गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले यस्तो अवस्थाको अन्त्यका लागि सरकार गम्भीर रहेको बताए । “सीमावर्ती क्षेत्रको विकास बिना समग्र क्षेत्रको विकास सम्भव हुँदैन,” उनले थपे, “त्यसैले नाका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिनेछ ।” सांसद पाठकले हालै लागू गरिएको नाका क्षेत्रमा १ सय रुपैयाँसम्मको मात्र सामान ल्याउन पाउने सरकारी निर्णयप्रति उठेका जनगुनासोप्रति पनि प्रतिक्रिया दिए । उनले सो निर्णय संविधान र प्रचलित कानुनको दायराभित्र रहेर गरिएको स्पष्ट पार्दै यसको उद्देश्य राजस्व चुहावट नियन्त्रण र आन्तरिक अर्थतन्त्र सुदृढ गर्नु रहेको बताए । “नीति कठोर देखिए पनि यसको लक्ष्य दीर्घकालीन सुधार हो,” उनले भने, “जनतालाई दुख दिने नियत होइन, प्रणाली सुधार गर्ने प्रयास हो ।”
उनले पछिल्लो समय देशको अर्थतन्त्रमा देखिएको असन्तुलन, सीमित व्यक्तिहरूको नियन्त्रण तथा आर्थिक अपचलन जस्ता समस्याहरूलाई नियन्त्रण गर्न सरकार कठोर निर्णय लिन बाध्य भएको बताए। “यदि अहिले आवश्यक सुधारका कदम नचाल्ने हो भने देशको अर्थतन्त्र थप संकटमा पर्न सक्छ,” उनले चेतावनी दिए । सुशासन, पारदर्शिता र भ्रष्ट्राचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता रहेको उल्लेख गर्दै उनले यी क्षेत्रमा कडाइका साथ काम भइरहेको जानकारी दिए । कार्यक्रममा सहभागी वक्ताहरूले पनि देउखुरी क्षेत्रको समस्या र सम्भावनाबारे धारणा राखेका थिए । राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारीले सञ्चार क्षेत्रको वर्तमान अवस्था तथा निजी मिडियाले सामना गरिरहेका चुनौतीहरूबारे प्रकाश पारे । उनले सरकारी नीतिका कारण निजी सञ्चार माध्यमहरू आर्थिक रूपमा कमजोर बन्दै गएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश सदस्य शंकर गौतमले स्थानीय अर्थतन्त्र सुदृढ गर्न व्यवसायीमैत्री नीति आवश्यक रहेको बताए । उनले सीमावर्ती व्यापारलाई व्यवस्थित गर्न, साना तथा मझौला व्यवसायलाई प्रोत्साहन गर्न र पूर्वाधार विकासमा लगानी बढाउन आग्रह गरे । त्यस्तै राप्ती चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष नेमलाल शर्मा बेल्वासेले निजी क्षेत्रसँग सहकार्य गरेर मात्र दीगो विकास सम्भव हुने धारणा राखे ।
कार्यक्रमकै अवसरमा राप्ती प्रेस मञ्चले प्रतिनिधि सभा सदस्य पाठकलाई ज्ञापनपत्र बुझाएको छ । मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारी र वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताले संयुक्त रूपमा उक्त ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् । ज्ञापनपत्रमा पछिल्लो समय संघीय सरकारले सरकारी सूचना तथा विज्ञापनहरू मुख्यतः सरकारी सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्णयले निजी सञ्चार माध्यमहरू धरासायी हुने खतरा बढेको उल्लेख गरिएको छ ।
ज्ञापनपत्र मार्फत मञ्चले उक्त निर्णय तत्काल फिर्ता लिन, निजी सञ्चार माध्यमलाई समान अवसर प्रदान गर्न तथा जनतालाई समयमै सूचना प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न माग गरेको छ । साथै, प्रेस स्वतन्त्रता र मिडियाको दिगोपनका लागि स्पष्ट नीति ल्याउन समेत आग्रह गरिएको छ । “निजी सञ्चार माध्यम कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुन्छ,” ज्ञापनपत्रमा उल्लेख छ ।
सांसद पाठकले ज्ञापनपत्र ग्रहण गर्दै उठाइएका विषयहरूलाई गम्भीरतापूर्वक लिने र सम्बन्धित निकायसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरे । उनले सञ्चार क्षेत्र लोकतन्त्रको महत्वपूर्ण स्तम्भ भएको उल्लेख गर्दै यसको सुदृढीकरणका लागि आफू सकारात्मक रहेको बताए । कार्यक्रममा राप्ती प्रेस मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन मञ्चका महासचिव तथा चेम्बरका प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

