मुख्यमन्त्री र स्वीस सहयोग प्रमुख मायरबीच भेटवार्ता : संघीयता सुदृढीकरण र प्राविधिक शिक्षामा जोड
दाङ ३१ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य संग स्विट्जरल्याण्ड सरकारका सहयोग प्रमुख माथियस मायर ले सिष्टाचार भेटवार्ता गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री आचार्यले प्रदेशलाई समृद्ध बनाउन प्राविधिक शिक्षाको महत्त्वपूर्ण भूमिका रहने बताए । उनले दक्ष जनशक्ति उत्पादन, नव प्रवर्तन र सीपमूलक शिक्षामार्फत प्रदेशको आर्थिक तथा सामाजिक विकासलाई गति दिन सकिने उल्लेख गरे । मुख्यमन्त्री आचार्यले संघीयता सुदृढीकरणका लागि प्रदेश सरकारले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । उनले प्रदेशहरुलाई अझ बलियो बनाउने गरी भूमिका विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै अन्तरप्रदेश समन्वय बढाउन लुम्बिनी प्रदेशले पहल गरिरहेको जानकारी दिए ।
उनले सातै प्रदेशका मुख्यमन्त्रीहरुबीच गोलमेच सम्मेलन आयोजना गर्ने तथा साझा छलफलको वातावरण निर्माण भएको समेत बताए । संघीय शासन प्रणाली प्रभावकारी बनाउन तीन तहका सरकारबीच समन्वय अझ सुदृढ हुनुपर्ने उनको भनाइ थियो । स्विट्जरल्याण्ड सरकारका सहयोग प्रमुख माथियस मायरले स्वीस सरकार र नेपाल बीच मैत्रीपूर्ण सम्बन्ध रहेकाे, संघीयताकाे सुदृढीकरण, नव प्रवर्तनकाे क्षेत्रमा सहकार्यले निरन्तरता पाएकाे बताए । भेटवार्तामा आर्थिक मामिला तथा याेजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव कृष्णप्रसाद काप्री, प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर डिल्लिराज अर्याल को सहभागिता रहेको थियो । भेटवार्ताका क्रममा नेपाल र स्विट्जरल्याण्डबीचको मैत्रीपूर्ण सम्बन्ध, नव प्रवर्तन, प्राविधिक शिक्षा तथा दक्ष जनशक्ति उत्पादनका विषयमा समेत छलफल भएको थियो ।

