ऐरावती क्याम्पसको नवनिर्मित सरस्वती मन्दिरमा मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न



ऐरावती क्याम्पसको नवनिर्मित सरस्वती मन्दिरमा मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न

भालुवाङ ३१ वैशाख । दाङ देउखुरीको राप्ती गाउँपालिका–२ लालमटियामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पस परिसरमा नवनिर्मित सरस्वती मन्दिरमा मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको छ।

पण्डित कृष्णप्रसाद पौडेलले वैदिक मन्त्रोच्चारण सहित धार्मिक विधि अनुसार विद्याकी देवी सरस्वतीको मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा गराउनुभएको थियो। उक्त धार्मिक अनुष्ठानमा लालमणि शर्माको परिवार तथा शिक्षण सहायक गगन शर्माले कर्ताको भूमिका निर्वाह गर्नुभएको थियो। मन्दिर निर्माणका लागि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको क्याम्पसले जनाएको छ। निर्माण व्यवसायी बलिराम चौधरीले श्रमिकको ज्याला बापत आर्थिक सहयोग गर्नुभएको थियो भने क्याम्पसका संस्थापक उपाध्यक्ष लालमणि शर्मा र उहाँका भाइहरूले सरस्वतीको मूर्ति सहयोग गर्नुभएको थियो। साथै क्याम्पस सञ्चालक समिति, सल्लाहकार, प्राध्यापक, कर्मचारी, स्ववियु, स्थानीय उद्योगी–व्यापारी तथा शिक्षाप्रेमी महानुभावहरूबाट समेत आर्थिक सहयोग जुटाइएको थियो।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष विलोचन चौधरी, सल्लाहकार एवं जग्गादाता द्रोण भुसाल, संस्थापक उपाध्यक्ष लालमणि शर्मा, श्रीकृष्ण शर्मा, विकास शर्मा, मन्दिर निर्माण समितिका संयोजक रमेशमान गुरुङ, पत्रकार महेशचन्द्र रिजाल, क्याम्पस प्रमुख विक्रान्त ज्ञवाली, सञ्चालक समिति सदस्यहरू कुलराज न्यौपाने, अनिल पौडेल, रामप्रसाद शर्मा, टिकराम राउत, सहायक क्याम्पस प्रमुखद्वय तुलसीराम पौडेल र चन्द्रप्रकाश ओली, स्ववियु अध्यक्ष विनोदकुमार सोनी, प्राध्यापक, कर्मचारी, चन्दादाता तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले शिक्षा, संस्कार र सभ्यताको विकासमा सरस्वती माताको आराधनाले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए। क्याम्पस सञ्चालक समितिको आयोजनामा सम्पन्न कार्यक्रममा वैदिक विधिअनुसार पूजा, हवन, मन्त्रउच्चारण तथा प्राण प्रतिष्ठा गरिएको थियो।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष विलोचन चौधरीले मन्दिर निर्माण तथा मूर्ति स्थापनामा सहयोग गर्ने सम्पूर्ण दाताहरू, स्थानीयवासी तथा सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रममा भजन–कीर्तन, प्रसाद वितरण तथा सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो। स्थानीयवासीहरूले मन्दिर स्थापना भएपछि क्याम्पसमा धार्मिक, सांस्कृतिक तथा शैक्षिक वातावरण अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे