राप्तीमा जेठ १ गते देखि राष्ट्रिय सरसफाइ सप्ताह सुरु हुँदै
भालुवाङ ३१ वैशाख । दाङको राप्ती गाउँपालिकामा जेठ १ गतेदेखि राष्ट्रिय सरसफाइ सप्ताह सुरु हुने भएको छ। नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशन तथा गाउँ कार्यपालिकाको निर्णयअनुसार “स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण” निर्माण गर्ने उद्देश्यसहित सप्ताहव्यापी अभियान सञ्चालन गरिन लागिएको हो।
जेठ १ देखि ७ गतेसम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत सार्वजनिक स्थल, सडक, विद्यालय, स्वास्थ्य संस्था र बजार क्षेत्रमा सरसफाइ, फोहोर व्यवस्थापन, प्लास्टिक न्यूनीकरण तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ। गाउँपालिकाले टोल विकास संस्था, विभिन्न संघसंस्था, सुरक्षा निकाय, शैक्षिक संस्था तथा नागरिक समाजको सहकार्यमा अभियानलाई प्रभावकारी बनाइने जनाएको छ। अभियानको औपचारिक शुभारम्भ जेठ १ गते बिहान ७ बजे गाउँपालिका परिसरमा गरिने छ। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सरसफाइ अभियान सफल बनाउन सबै सरोकारवालालाई सक्रिय रूपमा सहभागी हुन आग्रह गरेका छन् । उनले सरसफाइलाई दैनिक जीवनशैलीका रूपमा अपनाउँदै “स्वच्छ र समृद्ध राप्ती” निर्माणमा सबैको साझा प्रयास आवश्यक रहेको बताएका छन्।

