पौवाको १० औं वार्षिकोत्सव : भालुवाङ शाखामा स्वाद उत्सव देखि सांस्कृतिक कार्यक्रम गर्दै
भालुवाङ २४ चैत । होटल पौवाले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा देशभर रहेका शाखाहरुमा ‘स्वाद उत्सव’ कार्यक्रमको आयोजना गर्न लागेको ।
यसै क्रममा लुम्बिनी प्रदेशको राजधानी क्षेत्र दाङको राप्ती गाउँपालिका–१ भालुवाङमा रहेको होटल पौवाले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरेर वार्षिकोत्सवका अवसरमा आयोजना गर्न लागेको कार्यक्रमका विषयमा जानकारी गराएको छ । शाखा प्रमुख तथा म्यानेजर श्याम न्यौपानेका अनुसार पौवाका सम्पूर्ण शाखाहरुमा चैत्र २६ देखि २८ गतेसम्म ‘स्वाद उत्सव’ आयोजना गर्न लागिएको जानकारी दिएका छन् । ‘जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मूल नारा सहित नेपाली आतिथ्य सहितको सेवा दिदै आएको पौवाले आफ्नो वार्षिकोत्सवलाई विशेष पर्वको रुपमा मनाउन लागेको छ । वार्षिकोत्सवका अवसरमा भालुवाङ शाखाले चैत २५ गते राप्ती गाउँपालिका–८ कोहलुवामा रहेको निलसागर सेवा आश्रममा मिष्ठान्न भोजन तथा फलफूल वितरण गर्ने र सोही दिन पौवा परिसर सरसफाइ गर्ने त्यस्तै चैत २६, २७ र २८ गते तीन दिन सम्म ‘स्वाद उत्सव’ कार्यक्रम आयोजना गरेको शाखा प्रमुख न्यौपानेले जानकारी दिएका छन् ।
नेपाली स्वाद, नेपाली आतिथ्यता र नेपाली परिकारलाई देश विदेशमा ब्राण्डिङ गर्ने लक्ष्य लिएर सेवा दिदै आएको होटल पौवाले वार्षिकोत्सवको अवसरमा तीन दिन सम्म प्रत्येक दिन बिहान ११ बजे देखि बेलुका ५ बजेसम्म संचालन हुने ‘स्वाद उत्सव’ मा सहभागीताका लागि देशभरका शाखाहरुबाट ४० हजार भन्दा बढी निमन्त्रणापत्र वितरण गरेको पौवाले जनाएको छ । निकट भविष्यमै १०० शाखा बनाउने लक्ष्य सहित हाल २० वटा शाखा रहेको छ । होटल पौवाले नेपालमै रोजगारी सिर्जना गरी युवा जनशक्ति पलायन रोक्ने लक्ष्य लिएर अघि बढेको छ । पौवामा हाल झण्डै एक हजार भन्दा बढी कर्मचारी कार्यरत रहेको शाखा प्रमुख न्यौपानेले जानकारी दिए ।
साथै नेपालीहरुको विभिन्न चाडपर्वलाई विशेष बनाउँदै आएको पौवाले नेपालीहरुको नयाँ वर्षको स्वागत गर्ने विशेष कार्यक्रम समेत आयोजना गरेकोे छ । नयाँ वर्षलाई विशेष पर्वका रुपमा मनाउने लक्ष्यका साथ नयाँ वर्षको पूर्वसंध्यामा विविध सांगितीक कार्यक्रम गर्ने तयारी गरेकोे छ । पौवाले नेपालीहरुले वर्षौंदेखि मनाउँदै आएको चैत मसान्तमा पुरानो साललाई विदाई र नयाँ सालको स्वागत गर्ने गरि कार्यक्रम तय गरिएको छ । नयाँ वर्ष २०८३ को शुभारम्भका अवसरमा भालुवाङ शाखाले चैत ३० गते साँझ ७ बजे देखि १२ बजे सम्म बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरेको शाखा प्रमुख न्यौपानेले जानकारी दिए । कार्यक्रममा गायक बद्री पंगेनी, गायिका बसन्ती चौधरी, जानकी तारमी मगर र गायिका तथा उद्घोषिका कल्पना कुसुमको विशेष प्रस्तुती रहने न्यौपानेले बताए । उक्त बृहत सांस्कृतिक कार्यक्रममा गायक गायिका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने छ । कार्यक्रम प्रवेश निशुल्क रहेको होटलले जनाएको छ ।
