नेपालको राजनीतिमा कुनै भूमिका नभएकाहरू हिरो र भिलेन बनेर आएका छन् : आचार्य



नेपालको राजनीतिमा कुनै भूमिका नभएकाहरू हिरो र भिलेन बनेर आएका छन् : आचार्य

भालुवाङ २४ चैत । राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले नेपालको वर्तमान राजनीतिक अवस्था प्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै प्रजातान्त्रिक आन्दोलनमा कुनै योगदान नभएका व्यक्तिहरू आज राजनीतिक नेतृत्वको अग्रपंक्तिमा देखिनु विडम्बनापूर्ण भएको बताएका छन्।

उनले “राजनीतिमा कुनै भूमिका नभएकाहरू नै आज हिरो र भिलेनका रूपमा प्रस्तुत भइरहेका छन्” भन्ने टिप्पणी गर्दै राजनीतिक मूल्य, योगदान र इतिहासको अवमूल्यन भइरहेको आरोप लगाए। राष्ट्रिय जनमोर्चा दाङ देउखुरीद्वारा राप्ती गाउँपालिका–१ भालुवाङमा आयोजित ३६औँ जनआन्दोलन दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले यस्तो धारणा राखेका हुन्। कार्यक्रममा बोल्दै उनले जनआन्दोलनको ऐतिहासिक महत्व सम्झाउँदै अहिलेको राजनीतिक नेतृत्वले त्यसको मर्म र उद्देश्यलाई आत्मसात् गर्न नसकेको बताए। उनले भने, “नेपालको प्रजातान्त्रिक आन्दोलन लामो संघर्ष, बलिदान र त्यागको परिणाम हो। हजारौं जनताको योगदानबाट निरङ्कुश शासनको अन्त्य भयो, गणतन्त्र स्थापना भयो। तर आज ती उपलब्धिहरूको संरक्षण र सुदृढीकरणतर्फ ध्यान दिनुको सट्टा व्यक्तिगत स्वार्थ र सत्ताको खेलमा राजनीति सीमित हुँदै गएको छ।” अध्यक्ष आचार्यले वर्तमान सरकारप्रति लक्षित गर्दै जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप पनि लगाए।

उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै भने, “निरङ्कुशता अन्त्य भयो, गणतन्त्र आयो, तर जनताको जीवनस्तरमा अपेक्षित सुधार देखिएको छैन। सरकार जनजीविकाका सवालमा गम्भीर देखिँदैन। महँगी, बेरोजगारी र आधारभूत सेवाको अभाव जस्ता समस्याले जनता अझै पीडित छन्।” उनले थपे, “अहिलेको सरकार राजनीतिक स्वार्थ र व्यक्तिगत महत्वाकांक्षा पूरा गर्नतर्फ केन्द्रित देखिन्छ। जनताको हितभन्दा पनि सत्ताको टिकाउ र शक्ति सन्तुलनमा बढी ध्यान दिइएको छ।” आचार्यका अनुसार यस्तो प्रवृत्तिले लोकतान्त्रिक प्रणालीप्रति जनविश्वास कमजोर पार्ने खतरा बढाएको छ। कार्यक्रममा उनले जनआन्दोलन दिवसको सन्दर्भमा विगतका संघर्षहरूको स्मरण गर्दै लोकतन्त्र प्राप्तिका लागि भएका बलिदानलाई बिर्सन नहुने बताए। “हामीले इतिहास बिर्सियौं भने भविष्य सुरक्षित हुन सक्दैन,” उनले भने, “त्यसैले नयाँ पुस्तालाई जनआन्दोलनको महत्व र त्यसबाट प्राप्त उपलब्धिहरूको संरक्षण गर्न प्रेरित गर्नुपर्छ।”उनले राजनीतिक दलहरूलाई आत्मसमिक्षा गर्न आग्रह गर्दै जनमुखी नीति तथा कार्यक्रममार्फत जनताको भरोसा जित्नुपर्ने आवश्यकता औंल्याए। “राजनीति सेवा हो, सत्ता होइन,” उनले भने, “यदि राजनीति सेवा र उत्तरदायित्वबाट टाढा जान्छ भने त्यसले देश र जनतालाई दीर्घकालीन क्षति पुर्‍याउँछ।”

कार्यक्रममा बोल्दै अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेलले पनि वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गरे। उनले जनआन्दोलनको मर्मअनुसार शासन सञ्चालन हुन नसकेको उल्लेख गर्दै राजनीतिक नेतृत्वले जनताको पक्षमा स्पष्ट एजेन्डा ल्याउनुपर्ने बताए। “जनताको अपेक्षा अझै पूरा भएको छैन,” उनले भने, “राजनीतिक दलहरूले सत्ताको खेलभन्दा माथि उठेर राष्ट्र र नागरिकको हितलाई प्राथमिकता दिनुपर्छ।” पोख्रेलले युवाहरूलाई राजनीतिक चेतना र सहभागिता बढाउन आग्रह गर्दै लोकतन्त्रको सुदृढीकरणमा युवाको भूमिका महत्वपूर्ण हुने बताए। कार्यक्रम राष्ट्रिय जनमोर्चा दाङका जिल्ला अध्यक्ष गणेश आचार्यकै अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन पार्टीका जिल्ला उपाध्यक्ष महेश रिजालले गरेका थिए। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ताहरूको  उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे