ज्योति आधारभूत विद्यालयले कक्षा ५ र कक्षा ८ को परीक्षामा सतप्रतिशत नतिजा ल्यायो



ज्योति आधारभूत विद्यालयले कक्षा ५ र कक्षा ८ को परीक्षामा सतप्रतिशत नतिजा ल्यायो

देउखुरी २४ चैत । देउखुरीको राजपुर गाउँपालिका–१ गुरुङखोलामा अवस्थित ज्योती आधारभूत विद्यालयले यस वर्ष पनि उल्लेखनीय शैक्षिक उपलब्धि हासिल गर्न सफल भएको छ।

विद्यालयले बिगतका वर्षहरू जस्तै शैक्षिक उत्कृष्टता कायम राख्दै शैक्षिक सत्र २०८२ मा सञ्चालन गरिएको पालिका स्तरिय कक्षा ५ र कक्षा ८ को परीक्षामा सतप्रतिशत नतिजा ल्याउन सफल भएको हो। राजपुर गाउँपालिकामा यस वर्ष कक्षा ५ र कक्षा ८ को परीक्षा पालिका स्तरमै सञ्चालन गरिएको थियो। कक्षा ५ तर्फ धेरै विद्यालयहरूले सतप्रतिशत नतिजा ल्याए पनि कक्षा ५ र ८ दुबै मा भने ज्योती आधारभूत विद्यालयले मात्र शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएर विशेष पहिचान बनाउन सफल भएको छ।

कक्षा ५ को परीक्षा राजपुर गाउँपालिका द्वारा खटाइएको विशेष अनुगमकर्ताको निगरानीमा सम्बन्धित विद्यालयमै सञ्चालन गरिएको थियो भने कक्षा ८ को परीक्षा भने तोकिएका केन्द्रहरूमा सञ्चालन गरिएको थियो। कक्षा ८ का विद्यार्थीहरूले राजपुर ५ मा रहेको साधरण मा.वि. सालभौरी र राजपुर ३ शंकर मा.वि. खरदरियामा परीक्षा दिएका थिए। बिकट भौगोलिक अवस्थाबीच पनि यस्तो उत्कृष्ट नतिजा हासिल गर्नु विद्यालयका लागि मात्र नभई सम्पूर्ण समुदायका लागि गर्वको विषय बनेको छ। विद्यालयका प्रधानाध्यापक दिल बहादुर शाहीले विद्यार्थीहरूको मेहनत, अभिभावकहरूको साथ, विद्यालय व्यवस्थापन समितिको सक्रियता तथा औपचारिक र अनौपचारिक रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

यस उपलब्धिप्रति खुशी व्यक्त गर्दै राजपुर गाउँपालिकाले पनि विद्यालयलाई बधाई ज्ञापन गरेको छ। साथै, विद्यालय र शिक्षकहरूलाई सम्मान गर्ने योजना समेत अगाडि बढाइएको जानकारी दिइएको छ। यस उपलब्धिले देखाउँछ कि लगनशीलता, सहकार्य र दृढ संकल्प भएमा दुर्गम क्षेत्रमै पनि उत्कृष्ट शैक्षिक परिणाम हासिल गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे