राप्तीमा पक्राउ परेका १८ ट्याक्टरबाट ३ लाख बढी जरिवाना
भालुवाङ २४ चैत । दाङको राप्ती गाउँपालिका–२ स्थित राप्ती नदीको कटहाघाट क्षेत्रबाट अवैध रूपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानीमा संलग्न १८ वटा ट्याक्टर जरिवाना तिरेपछि छुटेका छन्।
इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले मंगलबार बिहान करिब ४:३० बजे अनुगमनका क्रममा अवैध उत्खनन् भइरहेको फेला पारी ट्याक्टर सहित चालकहरूलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएका सवारी साधनहरू आवश्यक कारबाहीका लागि राप्ती गाउँपालिकामा पठाइएको थियो। गाउँपालिकाले प्रति ट्याक्टर २० हजार रुपैयाँका दरले कुल ३ लाख ६० हजार रुपैयाँ जरिवाना असुल गरी ट्याक्टरहरु छाेडिएकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले जानकारी दिएका छन् । अवैध उत्खनन् तथा ढुवानी नियन्त्रणका लागि निगरानी थप कडा बनाइने प्रहरीले जनाएको छ।
