बाँझो जमिन नराख्न लुम्बिनीका मुख्यमन्त्री आचार्यको आग्रह, सिँचाइ सुधारमा जोड
देउखुरी २४ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जमिन बाँझो नराखी उत्पादनमा जोडिन किसानलाई आग्रह गरेका छन् । सिँचाइ दिवस २०८२ को पूर्व सन्ध्यामा प्रगन्ना नहर सरसफाई कार्यक्रमको मंगलबार राप्ती उपत्यका (देउखुरी) मा उद्घाटन गर्दै उहाँले राज्यले सिँचाइको व्यवस्थापन गर्ने बताउँदै किसानका समस्यामा प्रदेश सरकार साथमा रहेको स्पष्ट पारे । उनले किसानका वास्तविक समस्या पहिचान भइसकेको र ती समाधानका लागि स्रोतअनुसार योजना बनाइरहेको जानकारी दिएका हुन् ।
मुख्यमन्त्री आचार्यले देउखुरी क्षेत्रलाई अन्नको भण्डारको रूपमा उल्लेख गर्दै पछिल्लो समय जमिन बाँझो रहने र उत्पादन घट्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे । उनले तरकारी खेतीमा किसानलाई सक्रिय हुन आग्रह गर्दै स्थानीय बजारमा बाहिरी तरकारीको निर्भरता घटाउन उत्पादन वृद्धि आवश्यक रहेको बताए ।

सिँचाइ सुविधा भए पनि अपेक्षित प्रतिफल लिन नसकिएको उल्लेख गर्दै उहाँले सबैलाई उत्पादनमुखी बन्न आग्रह गरे । ‘कृषिको आधारः सिँचाइमा सुधार’भन्ने मूल नारासहित उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्रगन्ना कुलो सिँचाइ प्रणाली मूल समन्वय समिति देउखुरीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सिता शर्मा चौधरीले सिँचाइ सुविधा विस्तारमा सरकार दृढताका साथ अघि बढिरहेको बताइन् । उनले उत्पादन र उत्पादकत्व वृद्धि गर्न सिँचाइको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै बाँझो जमिनमा समेत सिँचाइ सुविधा पुग्न थालेको जानकारी दिइन् ।
मन्त्री शर्मा चौधरीले प्रगन्ना कुलो सिँचाइ प्रणाली मूल समन्वय समितिका अध्यक्ष टंकनाथ चौधरीले राप्ती नदीमा हुने अनियन्त्रित उत्खननका कारण सिँचाइ प्रणालीमा समस्या देखिएको बताइन् । उनले मुहान क्षेत्रको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिँदै नदीको सतह गहिरिँदा कुलोमा पानी नचढ्ने समस्या रहेको उल्लेख गरिन् ।

कार्यक्रममा मन्त्रालयका सचिव चुर्णबहादुर ओलीले सिँचाइ हुने क्षेत्रफल क्रमशः विस्तार हुँदै गएको जानकारी दिए । उनले परम्परागत कुलो तथा सिँचाइका स्रोतहरूको संरक्षण र उपयोगमार्फत अधिकतम लाभ लिन सरकार सहयोगी बनेको बताए । कार्यक्रममा प्रगन्ना कुलो सिँचाइ प्रणाली मूल समन्वय समितिका सचिव शनिराम चौधरी, वड्कापथ कुलो सिँचाइ प्रणाली मूल समन्वय समितिका अध्यक्ष रघुनन्दन चौधरी र अगुवा किसान हल्लुप्रसाद चौधरी लगायतले किसानले भोग्दै आएका समस्याहरुबारे जानकारी गराएका थिए ।
उक्त सिँचाइ आयोजनामार्फत हाल ५ हजार ८ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्दै आएको छ । कार्यक्रमको सहजीकरण तिलक न्यौपानेले गरेका थिए ।

