निर्वाचन र पत्रकार आचारसंहितामा ध्यान दिनुस् : महासंघका उपाध्यक्ष बागचन्द
भालुवाङ ११ फागुन । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उमिद बागचन्दले पत्रकारले निर्वाचन सम्बन्धी समाचार सम्प्रेषण गर्दा स्वनियमनलाई प्राथमिकतामा राख्दै निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता पूर्णरूपमा पालना गर्न आग्रह गरेका छन् ।
सितगंगा नगरपालिका–८ सातमारास्थित होटल इभरल्याण मा सोमबार आयोजित “निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता” विषयक एकदिने अभिमुखीकरण कार्यक्रममा बोल्दै उपाध्यक्ष बागचन्दले लोकतान्त्रिक अभ्यासको संवेदनशील चरणका रूपमा निर्वाचनलाई उल्लेख गर्दै जिम्मेवार, सन्तुलित र प्रमाणमा आधारित पत्रकारिताको आवश्यकता औंल्याए ।
उनले भने, “निर्वाचनको समयमा सूचना प्रवाह तीव्र हुन्छ, तर त्यससँगै भ्रम र दुष्प्रचार फैलिने जोखिम पनि बढ्छ। पत्रकारले तथ्य पुष्टि, स्रोतको विश्वसनीयता र सन्तुलित प्रस्तुतीकरणमा कुनै सम्झौता गर्नु हुँदैन। आचारसंहिताको पालना केवल नियमको कुरा मात्र होइन, जनविश्वास जोगाउने मूल आधार हो।” बागचन्दका अनुसार केही सञ्चारमाध्यममा आएका अपुष्ट वा उत्तेजनात्मक सामग्रीले समाजलाई विभाजनतर्फ धकेल्ने खतरा बढेको देखिन्छ। “पत्रकारिता समाजलाई जोड्ने सेतु हो, फुटाउने औजार होइन,” उहाँले थप्नुभयो, “हामीले भाषा, सन्दर्भ र शीर्षक चयनमै संयम अपनाउनुपर्छ, ताकि सूचनाले शान्ति र सहअस्तित्वलाई सुदृढ बनाओस्।”
कार्यक्रममा महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष तथा सल्लाहकार विपुल पोख्रेलले वर्तमान सामाजिक–राजनीतिक परिवेशमा जेन्जीहरूले उठाएका सवालहरूलाई नीतिगत बहसको केन्द्रमा ल्याउन मिडियाको खबरदारी अपरिहार्य रहेको बताए । उनले भने, “समावेशी र मनोवैज्ञानिक रूपमा संवेदनशील संसद निर्माणको सवालमा मिडियाले तथ्य र तर्कमा आधारित बहस अगाडि सार्नुपर्छ। युवाको आकांक्षा र चुनौतीलाई समेट्ने विमर्शलाई सुदृढ बनाउनु नै जिम्मेवार पत्रकारिताको मार्ग हो।” पोख्रेलले निर्वाचन रिपोर्टिङमा प्रतिस्पर्धी राजनीतिक शक्ति र उम्मेदवारबारे समाचार तयार गर्दा समान अवसर, सन्तुलन र पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिए । “समाचारको ढाँचा, फोटो–भिडियोको प्रयोग र शीर्षकको भाषासमेत निष्पक्षताको कसौटीमा उभिनुपर्छ,” उनले भने, “पत्रकारिताको विश्वसनीयता एकपटक कमजोर भयो भने त्यसलाई पुनःस्थापित गर्न धेरै समय लाग्छ।”
कार्यक्रममा सहभागी वक्ताहरूले निर्वाचनको समयमा सामाजिक सञ्जालमा फैलिने अपुष्ट सामग्री, अफवाह र घृणात्मक अभिव्यक्तिको व्यवस्थापनमा मिडियाको भूमिकाबारे अनुभव साटासाट गरेका थिए। महासंघका केन्द्रीय उपाध्यक्ष बाग्चनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरू रामराज पोख्रेल, लिला शाह, पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चाैलागाई, महासंघका रूपन्देहीमा अध्यक्ष दिनेश पाण्डे लगायतका वक्ताहरूले बोलेका थिए । कार्यक्रमको सञ्चालन प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्यले गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेशका पदाधिकारी, १२ वटा जिल्लाका अध्यक्षहरू र स्थानीय पत्रकारहरूको सहभागीता रहेको कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष अमिद बाग्चन र निवर्तमान अध्यक्ष तथा सल्लाहकार विपुल पोख्रेलले गरेका थिए ।

