शिवसवरी धाममा धार्मिक मेला तथा साँस्कृतिक कार्यक्रम : नृत्य प्रतियाेगितामा सिरिन भ्याली प्रथम
भालुवाङ ४ फागुन । शिवसवरी धाम धार्मिक केन्द्र राप्ती गाउँपालिका–५ पहरूवाको आयोजनामा महाशिवरात्री पर्वको अवसरमा आयोजित महाशिवरात्री धार्मिक मेला तथा साँस्कृतिक कार्यक्रम सम्पन्न छ ।
केन्द्रका अध्यक्ष मिश्रुलाल चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष विष्टले महाशिवरात्री जस्ता धार्मिक पर्वहरूले समाजमा आध्यात्मिक चेतना अभिवृद्धि गर्नुका साथै आपसी एकता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । त्यस्तै उनले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा गाउँपालिका सदैव प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । फागुन २ गते देखि ४ गते सम्म सञ्चालन भएको कार्यक्रम अन्तरगत भएको नृत्य प्रतियोगितामा सिरिन भ्याली पब्लिक स्कुल मौरीघाट प्रथम, लिटिल एन्जल्स स्कुल भालुवाङ द्धितीय र स्टार क्लव लालमटियाले तृतीय स्थान हासिल गरेका थिए ।
बिजेताहरुलाई क्रमश ६ हजार, ५ हजार र ४ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । मेलालाई मुख्य प्रायोजकको रुपमा ॐ नम शिवाय काष्ठ फर्निचर उद्योग लमही नगरपालिका ३ फल्कापुर र सहप्रयोजकको रुपमा न्यू लुम्बिनी होटल राप्ती गाउँपालिका–५ पहरुवाले गरेका गरेका थिए । भने प्रायोजकको रुपमा डोको कटेज कोहलपुर नगरपालिका–९ बाँके, रोनित प्यूरिफायर सप्लार्य प्रालि कोहलपुर नगरपालिका–११ बाँके र राप्ती गाउँपालिका–५ पहरुवा निवासी पुरन चौधरीले सहयोग गरेका थिए । मेला अबधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहेको संस्थाका सचिव तथा सांस्कृतिक संयोजक राजेन्द्र चौधरीले जानकारी दिए । चौधरीका अनुसार मेलामा बहुचर्चित गायक कमल बिसी (माइला दाइ) थारू गायकहरू राजेन्द्र चौधरी, गौतम चौधरी, गायक श्रीधर कडेल, उदघोषक अनुप बुढा, दिपक बर्मा, मोडेल तथा डान्सर दानबहादुर चौधरी र स्थानीय कलाकारहरूको प्रस्तुति रहेको थियो । मेलामा बच्चाका खेलौना, विभिन्न गेम आइटमहरू तथा विभिन्न व्यापारिक, पुजा र फलफूलका स्टलहरू समेत रहेको थियो । धामको स्थापनाकाल देखि उक्त धाममा प्रत्येक बर्ष महाशिवरात्रीमा धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

