संघर्ष समितिले पुस ७ गते प्रदेशसभा मुलगेट अगाडी विरोध प्रदर्शन गर्ने, सरकारी गाडी चल्न नदिने



संघर्ष समितिले पुस ७ गते प्रदेशसभा मुलगेट अगाडी विरोध प्रदर्शन गर्ने, सरकारी गाडी चल्न नदिने

भालुवाङ ६ पुस । धानखोला–लमही चार लेन सडक संघर्ष समितिले पुस ७ गते लुम्बिनी प्रदेशको राजधानी प्रदेशसभा जाने मुल गेटमा विरोध प्रदर्शन गर्ने भएको छ ।

एमसिसी परियोजना अन्तर्गत एमसिए नेपालले अघि बढाएको दाङको धानखोला–लमही दुई लेन सडक परियोजना तत्काल खारेज गर्ने संकेत नदेखिएको २ लेनकै सडक स्तरउन्नती गर्न खोजिएको भन्दै संघर्ष समितिले विहान ९ बजे देखि विरोध प्रदर्शन गर्ने र सरकारी सवारीसाधानमा रोक लगाउने गरि विरोधको कार्यक्रम सुरु गर्न लागेको संघर्ष समितिका अध्यक्ष प्रकाश शाहीले जानकारी दिएका छन् । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र समेत रहेको देउखुरीमा दुई लेन सडक दीर्घकालीन रूपमा अव्यवहारिक, असुरक्षित तथा विकास विरोधी हुने जनाउँदै यस्तो चेतावनी दिएका हुन् ।

हालको सडक अत्यन्त साँघुरो रहेको, सवारी चाप अत्यधिक बढ्दै गएको तथा दुर्घटनाका घटना निरन्तर बढिरहेको अध्यक्ष शाहीको भनाई छ । पूर्व–पश्चिम राजमार्गलाई एसियन हाइवेका रूपमा चार लेनमा विस्तार गर्ने सरकारी नीति सँग विपरीत ढंगले धानखोला–लमही खण्डलाई दुई लेनमा सीमित गर्न खोजिनु गम्भीर त्रुटि भएको समितिको ठहर छ । देउखुरी क्षेत्र तीव्र शहरीकरण् ातर्फ उन्मुख भइसकेको र अबको आवश्यकता चार लेन सडक नै भएको स्पष्ट पारिएको छ । संघर्ष समितिले मंसिर ९ गते देखि संघीय, प्रदेश तथा स्थानीय तहका सरोकारवाला निकायसँग चरणबद्ध भेटघाट तथा ध्यानाकर्षण गराउँदै आएको जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, जिल्ला प्रशासन कार्यालय दाङ तथा यस क्षेत्रका जनप्रतिनिधिसँग भएका भेटघाटमा चार लेन सडक आवश्यक रहेको बताइए पनि व्यवहारमा दुई लेनकै टेन्डर प्रक्रिया अघि बढाइनु आपत्तिजनक भएको बताइएको छ ।

भालुवाङ–लमही सडक खण्डमा सवारी चाप व्यवस्थापन गर्न ‘टाइम कार्ड’ प्रणाली लागू गर्नुपर्ने अवस्था आउनु नै वर्तमान सडक संरचनाको असफलताको उदाहरण भएको बताइएको छ । यस्तो अवस्थामा दुई लेन सडक निर्माण गर्दा भविष्यमा थप समस्या सिर्जना हुने समितिको निष्कर्ष छ । संघर्ष समितिले धानखोला–लमही दुई लेन सडक परियोजना खारेज गरी चार लेन एसियन हाइवे निर्माणका लागि संघीय सरकारले तत्काल निर्णय लिनुपर्ने माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे